नेदरल्यान्डसलाई हराउदै चेक रिपब्लिक क्वाटरफाइनलमा

एजेन्सी, उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो  ।

पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको हो ।

बक्स बाहिर हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका थिए । भीएआर अघि उनलाई पहिलो कार्ड मात्र दिईएको थियो ।

नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकले फाईदा उठायो ।

खेलको ६८ औं मिनेटमा टोमसले गोल गर्दै चेक रिपब्लिकलाई १-० को अग्रता दिलाए । टोमस कालसको पासमा उनले हेडरमार्फत गोल गरे । 

त्यसपछि खेलको ८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए । उनले टोमस होल्सको पासमा गोल गरेका हुन् । जारी युरोकपमा शिकको यो चौंथो गोल हो ।

अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ। यस अघि नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो ।

चेक रिपब्लिकले समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको थियो  । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो ।