नेइमार संकटमा : ६ वर्षसम्म जेल जान सक्ने, बार्सिलोनाविरुद्ध पनि मुद्दा

पिएसजीका ब्राजिलियन स्टार नेइमार लामो समयसम्मका लागि जेल जान सक्ने खतरा बढेको छ । सन् २०१३ मा सान्तोष क्लबबाट बार्सिलोना सरुवा भएका नेइमारले त्यसबेला छलछाम र भ्रष्टाचार गरेको आरोप लागेको छ । स्पेनका एक न्यायाधीशका अनुसार यदि सो मुद्दामा नेइमार दोषी ठहर भए उनले ६ वर्ष जेल सजाय भोग्न सक्नेछन् । त्यसैगरी, क्लब बार्सिलोनामाथि पनि कडा कारबाही हुनेछ ।

ब्राजिलियन इन्भेस्टमेन्ट फर्म डिआइएसले नेइमार बार्सिलोना जाँदाखेरिको सम्झौताविरुद्ध उजुरी गरेपछि यो प्रकरण सतहमा आएको हो । सो कम्पनीले सम्झौताको वास्तविक रकम लुकाएर आफूहरूलाई ज्यादै कम मात्रै रकम दिएको आरोप लगाएको छ । अहिले यस विषयले नेइमारलाई तनावमा पारेको छ ।

ब्राजिलियन नेइमार सन् २०१७ मा विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी सरुवा भएका थिए । स्पेनको कानुनअनुसार २ वर्ष वा सोभन्दा कम जेल सजाय हुँदा जेल जानु पर्दैन । जेल सजायबापत पनि आर्थिक जरिमाना तिरेर बाहिर बस्न पाइन्छ । तर, नेइमारको हकमा ६ वर्ष जेल सजाय माग गरिएको छ । र, उक्त मुद्दामा नेइमार दोषी ठहर भए उनले जेल नै बस्नुपर्ने हुन्छ ।

छली तथा धोकाधडीको सो मुद्दामा कम्पनीले नेइमार, उनका बुबा, बार्सिलोना क्लब र अध्यक्ष जोसेप मारिया बार्टोमेउ तथा पूर्वअध्यक्ष सान्ड्रो रसलविरुद्ध मुद्दा दर्ता गराएको छ । स्मरण रहोस्, यही प्रकरणलाई लिएर सन् २०१४ मा रसलले क्लबको अध्यक्ष पद नै त्याग्नु परेको थियो । यसैबीच, स्पेनको अदालतले नेइमारको पुरानो मुद्दालाई ३ जना न्यायाधीशले हेर्ने गरी ठूलो बेन्चमा पठाउने फैसलासमेत गरेको छ ।

यो दाबी गरिएको छ कि, ८.६२ करोड युरोमा नेइमार बार्सिलोनामा सरुवा भए पनि त्यसबेला क्बल बार्सिलोनाले भने मात्रै ४ करोडमा सम्झौता भन्दै नक्कली कागजात देखाएको थियो । अब स्पेनको अदालतले नेइमारको मुद्दालाई सिनियर बेन्चमा पठाए पनि छानबिन र सुनुवाई कहिलेबाट हुन्छ भन्ने बताइएको छैन । यता, नेइमारले भने हालसम्म यसबारे मुख खोलेका छैनन् ।