नेइमार विरुद्ध समर्थकको नाराबाजी, ‘गो अवे, गेट लस्ट’

विश्व कीर्तिमानी मूल्यमा दुई वर्षअघि आफूलाई भव्यताका साथ भित्र्याएको क्लब कुनै पनि हालतमा छोड्न चाहेका नेइमारविरुद्ध पिएसजीका समर्थकले नाराबाजी गरेका छन्।

फ्रेन्च लिग वान फुटबलको नयाँ सिजन अन्तर्गत पेरिस सेन्ट–जर्मेन (पिएसजी) को आइतबार राति भएको निमेससँगको पहिलो खेलको क्रममा घरेलु मैदानमा जम्मा भएका पिएसजी समर्थकले नेइमारविरुद्ध नाराबाजी गरेका हुन्।

उनीहरुले ‘नेइमार गो अवे’ लेखिएका ब्यानर तथा पोस्टर प्रदर्शन गरेका छन् । पिएसजीका समर्थकहरुले नेइमारलाई क्रस लगाएको पोस्टर पनि प्रदर्शन गरे।

नेइमारले क्लब छोड्ने सम्भावनाका बिच उनी बिना नै मैदानमा रहेको पिएसजीले निमेसमाथि ३–० को जित दर्ता गरेको छ । उसका लागि एडिन्सन काभानी, केलियन एमबाप्पे र एन्जल डी मारियाले गोल गरे । क्लबका तीन स्टार खेलाडीले गोल गर्दा मैदान बाहिर रहेका नेइमारविरुद्ध नाराबाजी भएको हो । केही समर्थकले ‘गेट लस्ट’ लेखिएको ब्यानर पनि बोकेका थिए।

खेलअघि पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डोले नेइमारको बहिर्गमन सम्बन्धी वार्ता पहिले भन्दा सघन भएको बताएका छन् । तर प्रशिक्षक थोसम टुसिलले भने फ्रेन्च टेलिभिजन कार्यक्रममा नेइमार आफूहरुसँगै रहेको र उनी आफूहरुका लागि निकै महत्वपूर्ण खेलाडी रहेको बताएका थिए । उनलाई गुमाउएर उनकै स्तरको अर्को खेलाडी पाउन निकै कठिन रहेको उनको भनाई थियो।

तर खेलको क्रममा समर्थकले गरेको नेइमारविरुद्धको नाराबाजीपछि प्रशिक्षक टुसिलले आफ्नो सहानुभूति समर्थकसँग रहेको बताएका छन्।

विश्वका सबैभन्दा महंगा फुटबल खेलाडी नेइमार आफ्नो पुरानो क्लब बार्सिलोना फर्किन चाहन्छन्।

तर बार्सिलोनाले एन्टोनी ग्रिजम्यानसहितको स्टार खेलाडी अनुबन्धित गरेकाले उनको सम्भावना कम भएको बताइन्छ । यस्तै नेइमारको नाम बार्सिलोनाको चीरप्रतिद्वन्द्वी रियल मड्रिडसँग पनि जोडिएको छ ।

नेइमार यो सिजनको ट्रान्सफर विण्डको अन्तिम समयसम्ममा पिएसजीबाट बाहिर हुने सम्भावना बलियो देखिएको फुटबल पण्डितले बताएका छन् । उनको यात्रा स्पेनतिर हुने सम्भावना देखिए पनि कुन क्लबमा ढोका खुल्छ यकिन भएको छैन ।

नेइमार विश्व कीर्तिमानी मूल्यमा सन् २०१७ मा बार्सिलोनाबाट पिएसजी आएका हुन् । पिएसजीले अहिले पनि नेइमारका लागि कीर्तिमानी मूल्य चाहेको छ, तर उनमा चासो देखाएका क्लबले पिएसजीले मागे जति रकम तिर्न खोजिरहेका छैनन् ।

नेइमारले पिएसजीका लागि लिग वानमा दुई सिजनमा ३४ गोल गरे । दुवै सिजनमा उनले चोटका कारण धेरै खेल खेल्न पाएका थिएनन्।

 

-देश  सञ्चार