नेइमार माथि लाग्यो बलात्कारको आरोप

नेइमार माथि बलात्कारको आरोप लागेको छ। उनलाई एक ब्राजिली महिलाले बलात्कारको आरोप लगाएको रिपोर्ट शनिबार सार्वजनिक भएको हो ।

परिचय नखुलेकी एक महिलाले ब्राजिलस्थित साओ पाउलोमा नेइमार बलात्कारको उजुरी दिएकी हुन् । नेइमारले उनलाई ब्राजिलबाट पेरिस बोलाएर उनीमाथि बलात्कार गरेको आरोप ती महिलाको छ ।

ती महिलाका अनुसार रक्सीले मातेका नेइमारले उनी बसेको होटलमा आएर उनलाई जिस्काउँदै आक्रमक हुँदै उनको इच्छा विपरित यौन सम्बन्ध राखेको दाबी गरेकी छिन् ।

उजुरीपछि ब्राजिली अधिकारीहरूले घटनामाथि अनुसन्धान गरिरहेका छन् । फ्रेन्च फुटबल समाचारका अनुसार उनलाई आरोप लगाइएको रात नेइमार आफ्ना ब्राजिलियन साथी खेलाडी मार्क्विनहोसको जन्मदिनको पार्टीमा थिए ।

नेइमारका बाबुले आरोपको खण्डन गर्दै आफ्ना छोरालाई ती आरोपीले त्यतिकै प्रताडित गर्न लागेको प्रतिक्रिया दिएका छन् ।