नयाँ फिफा (महिला) वरियता सार्वजनिक, नेपालको सुधार

फिफाले हालै सार्वजनिक गरेको वरियतामा नेपाल ३ स्थान माथि उक्लेको छ ।

नेपाली महिला फुटबलको वरियता ९७ औं रहेको छ । यसअघि अक्टुबरमा भएको वरियतामा नेपाल सयौं स्थानमा थियो ।

एसियाली खेलकुद राष्ट्रमा भने नेपाल २१ औं स्थानमा रहेको छ । पोखरा रंगशालामा भएको सोमबार भएको साग महिला फुटबलको फाइनलमा नेपाल भारतीय टोलीसँगै २–० ले पराजित भएको थियो ।

भारत बाहेक दक्षिण एसियाका सबै टोलीसँग हाबी रहँदै आएको नेपालले सागका तीनै संस्करणमा रजत पदकमा चित्त बुझाउनु परेको छ । यसअघिका दुवै संस्करणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो । सागमा नेपाल, भारत, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको थियो । राउन्ड रोविनका आधारमा भएको खेलमा श्रीलंका र माल्दिभ्सलाई हराएको नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

दक्षिण एसियाको महिला फुटबलमा भारत नै नेपालका लागि सबैभन्दा ठूलो चुनौतिका रुपमा रहँदै आएको छ । सागको समाप्तीसँग टोलीका मुख्य प्रशिक्षक हरि खड्काले हारको जिम्मेवारी लिदै राजिनामाको घोषणा गरेका थिए । त्यस्तै कप्तान निरु थापा र रक्षक मनमाया लिम्बुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।