नयाँ क्लब बार्यनमा कौटिन्होको तारिफ

बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्कीले आफ्ना नयाँ सहकर्मी फिलिपे कौटिन्होको तारिफ गरेका छन् । हालै स्पेनिस बार्सिलोनाबाट लोनमा बार्यन पुगेका कोउटिन्होसँग खेल्न पाउनु खुसीको कुरा भएको लेवान्डोस्कीले बताए ।

हाल बार्यनको प्रशिक्षणमा रहेका कौटिन्होले यसै साता बुन्डेसलिगामा डेब्यु गर्दैछन् । उनको डेब्युलाई निकै महत्त्वसाथ हेरिएको छ । उनले शनिबार शाल्केसँगको खेलबाट बार्यनको जर्सीमा डेब्यु गर्दैछन् ।

इंग्लिस क्लब लिभरपुलका पूर्व तथा ब्राजिलका स्टार खेलाडी बार्यन पुगेपछि लेवान्डोस्कीले कोउटिन्होको उपस्थितिले आफूहरू थप बलियो भएको बताए । ‘कौटिन्हो जस्ता खेलाडी सहकर्मी पाउँदा हामी निकै बलियो भएका छौं,’ लेवान्डोस्कीले भनेका छन्, ‘कौटिन्हो खेललाई जुनसुकै बेला परिवर्तन गर्न सक्ने खेलाडी हुन् । उनी यहाँ सफल हुनेमा म विश्वस्त छु ।’

बार्सिलोनामा असफल भनिएका कौटिन्हो बार्यनमा स्थापित हुने अपेक्षा गरिएको छ । गत सिजन बार्सिलोनामा उनले कूल ५४ खेल खेल्दै ११ गोल गरेर ५ गोलका लागि असिस्ट गरेका थिए ।