नचाहँदा नचाहँदै अन्तिम एक मिनेटमा गरेकाे भुलका कारण खेल गुमायाैं – बालगाेपाल

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक बालगाेपाल महर्जनले पाकिस्तानसँग खेल हारेपछि नचाहँदा नचाहँदै पहिलो म्याच पाकिस्तानसँग हार्न बाध्य भएकाे बताए । उनले भने ‘फुटबलमा यस्तो हुन्छ । हामीले यसका गल्तिलाई सुधार गरेर अगाडि बढ्ने हो । आजको खेलमा जुन २ वटा चिज नगर्नु पर्ने थियो त्यो गरेर हामी पराजित भएकाे बताए । ढाकामा रहेका नेप्लेज डट कमका सहकर्मी अनन्त वाग्लेले प्रशिक्षक महर्जनसँग गरेकाे कुराकानी

अबको खेलमा सुधार गर्नुपर्ने पक्ष के हो त ?
सुधार हामीले डिफेन्समा गर्नुपर्ने देखियो । हामीले आज डिफेन्समा गल्ती गरेका छौं, त्यसबाट पाठ सिक्न जरुरी छ । आज हामीले पाएका अबसरलाई पनि सदुपयोग गर्न सकेनौं । आजको खेल हार्दैमा हामी प्रतियोगितबाट बाहिरिसकेका छैनौं । अब बाँकी रहेका दुई वटै खेलमा जित निकालेर सफल हुने ठाउँ पनि छ ।

दोस्रो हाफमा निराजन मैदान प्रवेश गरे पछि खेलमा केही सुधार भएको हो ?
अबश्य पनि । निराजनले बल पोजिसन र पासहरु मिलाउन सजिलो भएको थियो । प्रतियोगितामा हार जित त भइनैरहन्छ । तर आज मेजर केही गल्तीहरु भएका छन् ।

अर्को खेलमा खेलाडी परिवर्तनको सम्भावना कति ?
हेरौ । आजको खेलको पहिला समिक्षा गर्छै । त्यस पछि कस्ले कस्तो प्रदर्शन गरेको छ त्यसैका आधारमा खेलाडीको विषयमा सोच्छौं ।

अर्को चरणमा पुग्ने विषयमा कतिको आशावादी हुनुहुन्छ ?
आजको खेलबाट ३ अंक हामीले पाकिस्तानलाई दिएका छौं । पहिला पनि हामीले यस्तो खेल खेलेका छौं । पहिलो खेल हारे पनि पछिल्ला खेलमा हामीले कमब्याक गर्छै । भलै पछिल्ला खेलहरुमा हामी बढी दबाबमा हुनेछौं । त्यो दबाबलाई चिरेर अघि बढ्न नेपाल तयार छ । कम्तिमा आज १ अंक लिएको भए अरु खेलमा हामीलाई अलि सजिलो हुने थियो । हामीले अन्तिम ३० सेकेण्ड धैर्यता राख्न नसक्दा ३ अंकनै गुमाउन बाध्य भयौं ।

अब नेपालले बिहिबार भुटानसँग खेल्नेछ । साे खेलमा नेपाललाइ जित निकाल्नै पर्ने दबाव रहेकाे छ ।