‘नकआउट चरण सम्म नि पुग्न नसके एकदमै लाजमर्दो हुनेछ’ – मेस्सी

कोपा अमेरिकामा प्रमुख उपाधि दाबेदार मानिएको टिम अर्जेन्टिना यतिबेला अप्ठेरो अवस्थामा छ । समूह चरणका दुई खेल सकिँदा पनि जितविहीन बनेको अर्जेन्टिनाले एक खेल हारेर एक खेल बराबरी गरेको छ ।

अर्जेन्टिना समूह ‘बी’मा अहिले मात्रै १ अंकका साथ सबैभन्दा पुछारमा छ । अर्जेन्टिनाले अब अन्तिम खेल कतारसँग खेल्दैछ । प्रतियोगिताको नकआउट चरण जान उसलाई कतारसँगको खेल निर्णायक हुनेछ ।

अर्जेन्टिनाले पहिलो खेलमा कोलम्बियासँग २–० ले हार्दा दोस्रो खेलमा पराग्वेसँग १–१ को कठिन बराबरी खेलेको थियो ।

आफ्नो टिम कठिन अवस्थामा रहेका बेला अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले मिडियासँग बोल्दै यदि आफूहरू नकआउट चरण नपुगे त्यो निकै लाजमर्दो हुने बताएका छन् ।

‘अझै पनि प्रशस्तै सम्भावना छ । तर, हामीले अबको खेल जित्नुपर्छ,’ मेस्सीले भने, ‘हामी यो खेल जित्न तयार छौं ।’
यदि अर्जेन्टिना नकआउट चरण नपुगे त्यो एकदमै लज्जापूर्ण नतिजा हुने पनि मेस्सीले बताए । ‘यदि हामी नकआउट चरण पुग्न सकेनौं भने यो निकै लाजमर्दो हुनेछ,’ मेस्सीले भने, ‘हामी त्यस्तो नतिजा चाहँदैनौं ।’

मेस्सीले अन्तिम खेलमा सबै खेलाडी एकताबद्ध भएर खेल्नुपर्ने बताए । ‘अन्तिम खेलमा सबै खेलाडी आत्मविश्वासी भएर खेल्नुपर्छ, हामीले कमजोरी पनि सुधार गर्नुपर्छ,’ उनले थपे ।