दोस्रो लेगमा हारे पनि रियल मड्रिड सेमिफाइनलमा

बुधबार राति घरेलु मैदान बेर्नाबेउमा भएको दोस्रो लेगको खेलमा इटालियन क्लब युभेन्टससँग ३–१ ले पराजित भए पनि एग्रीगेटमा ४–३ को जित निकाल्दै रियल सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयको खेल ०–३ मा सकिन लाग्दा अन्तिम मिनेटमा पाएको विवादित पेनाल्टीको सदुपयोग गर्दै रियल अन्तिम चारमा पुग्न सफल भएको हो । रियलको यो जितमा स्टार क्रिस्टियानो रोनाल्डो नायक बने ।
खेलमा सुरुबाटै रियलले प्रभाव जमाए पनि युभेन्टसले पहिलो हाफमा २–० को अग्रता लिएर अघिल्लो लेगको नतिजा उल्ट्याउने संकेत गरेको थियो । उसले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै घरेलु टोलीलाई दबाब दिएको थियो । युभेन्टसका लागि मारियो मान्डुज्किकले गोल गरे ।
खेलको ३७औं मिनेटमा मान्डुज्किकले नै व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले दुवै गोल टाउकोले गरेका थिए ।
त्यसपछि दोस्रो हाफमा गोलको खोजीमा भौतारिएको रियलले लगातार खेलमा फर्किन संघर्ष गरे पनि उसलाई युभेन्टसको रक्षापंक्ति तोड्न हम्मे परेको थियो । सोहीक्रममा खेलको ६०औं मिनेटमा युभेन्टसले तेस्रो गोल थप्यो । र, खेल ३–० मा पुर्यायो ।
तब एग्रीगेटमा युभेन्टस ३–३ को बराबरीमा पुग्यो । दुवै टिमले ३–३ गोल अवे मैदानमा गरेकाले अवस्था बराबरी थियो, त्यसबेलासम्म । युभेन्टसका लागि तेस्रो गोल बालिसे माटुइडीले गरेका थिए ।
तर, खेलको अन्तिम मिनेटमा तनावपूर्ण सिर्जना भयो । रियलका लुकास भाजक्वेजलाई युभेन्टसका खेलाडीले डि–एरियामा पछाडिबाट धक्का दिँदै लडाए । र, रेफ्रीले रियललाई अन्तिम मिनेटमा पेनाल्टीको अवसर दिए ।
तर, रेफ्रीको उक्त निर्णयमा युभेन्टसका खेलाडीले तुरुन्तै प्रतिकार गरे । सोहीक्रममा युभेन्टसका गोलरक्षक बुफोनलाई रेफ्रीले विवाद गरेको आरोपमा सोझै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए ।
खेलमा केहीबेर धकेलाधकेलको स्थिति सिर्जना भयो । त्यसपछि युभेन्टसले खेलाडी परिवर्तन गरेर दोस्रो गोलरक्षक भित्र्यायो । र, रियलका रोनाल्डो पेनाल्टी हान्न अघि बढे ।
विवादले खेल केहीबेर रोकिएपछि ‘मर्नु न बाच्नु’को अवस्थामा पेनाल्टी हानेका उनले कुनै गल्ती नगरी बललाई जाली चुमाए । र, संकटपूर्ण अवस्थामा रियललाई ‘भाग्य’को जित दिलाउँदै अन्तिम चारमा पुर्याए ।
खेलमा रियलले पटक–पटक गोलको अवसर पाएको थियो । तर, उसले युभेन्टसको रक्षापंक्ति तोड्न नसक्दा हारतर्फ अघि बढेको थियो । पहिलो लेगमा ३–० को जित भएकाले दोस्रो लेगमा ३–० कै हारनजिक पुगेका बेला खेल बराबरीपछि थप समयमा जानै लाग्दा खेलमा एकाएक फरक अवस्था आयो । र, पेनाल्टी गोलको मदतमा रियल अन्तिम चारमा पुग्न सफल भएको हो ।