देशको लागि खेल्छु भन्दा क्लबले गर्‍यो किरणको सम्झौता रद्द

किरण चेम्जोङको माल्दिभ्सको शीर्ष डिभिजन लिग च्याम्पियन ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्ससँग सम्झौता नहुने भएको छ ।

किरणले राष्ट्रिय टोलीबाट हुने मैत्रीपूर्ण खेललाई प्राथमिकता राखेपछि क्लबले उनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो । यसअघि दुवै पक्षबीच मौखिक सहमति भएपछि किरणले आफ्नो तर्फबाट सम्पूर्ण कागजपत्रमा हस्ताक्षर गरेर क्लबलाई बुझाएका थिए ।

राष्ट्रिय टोलीले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग खेल्ने कार्यक्रम रहेको छ । किरणसँगै राष्ट्रिय टोलीका अर्का सदस्य विमल घर्तिमगर पनि टिसीबाट खेल्ने मे महिनाको पहिलो साता माल्दिभ्स जाने कार्यक्रम थियो । तर राष्ट्रिय टोलीका लागि भिसाको प्रक्रिया अगाडी बढ्द कागजपत्रमा ढिलाई भएपछि दुवै खेलाडी मे तेस्रो साता जाने कार्यक्रम तय भएको थियो । क्लबले त्यसको लागि पनि आवश्यक स्वीकृति दिएको थियो ।

प्रशिक्षक कालिनले राष्ट्रिय टोलीको खेलमा किरणको उपस्थिति हुनुपर्ने माग राखेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको नियमअनुसार नै क्लबलाई पत्राचार पनि गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । सामान्यतया फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेलका लागि क्लबले ४८ घण्टाअघि खेलाडीलाई राष्ट्रिय टोलीका लागि उपलब्ध गराउनुपर्ने नियम रहेको छ । क्लबले भने किरणलाई

राष्ट्रिय टोलीको खेलका लागि छाड्न नमिल्ने अडान राख्यो ।
त्यसअघि क्लबले लिखित रुपमा किरणसँग सम्झौतामा हस्ताक्षर गरेपनि आफ्नो तर्फबाट भने हस्ताक्षर गरेको पत्र किरण माल्दिभ्स पुगेपछि मात्र दिने वाचा गरेको थियो ।

विमलको हकमा पनि यहि प्रक्रिया रहेको थियो । विमल चोटका कारण राष्ट्रिय टोलीमा परेका छैनन् । जसकारण उनी अब केहि दिनमा नै माल्दिभ्स प्रस्थान गर्नेछन् । किरणको हकमा भने राष्ट्रिय टोलीमा सहभागिता जनाउने भएपछि क्लबले उनलाई आफ्नो दर्ता टोलीमा सहभागी नगराउने र नयाँ सम्झौता पनि नगर्ने जानकारी दिएको छ । टिसीले जुन ७ र १० तारिखमा फोकाइडु एफसीसँग खेलाडी सिजनको सुरुवात गर्दैछ ।

गोलरक्षक किरणले क्लबले मौखिक सहमति गरेर आफ्नो तर्फबाट पत्रमा हस्ताक्षर गरेर पठाएपछि यस्तो कदम चालेकोमा दुख व्यक्त गरे । ‘मैले राष्ट्रिय टोलीबाट खेल्ने पहिला नै जानकारी गराएको थिएँ । यस विषयमा क्लबसँग सहमति भएको थियो । एन्फाबाट पनि समयमा पत्र पुगेको थियो ।

राष्ट्रिय टोलीको खेल हुने समयमा माल्दिभ्समा क्लबको खेल जुध्ने भएपछि क्लबले अर्को निर्णय लियो । मैले कानुनी रुपमा पनि केहि गर्ने अवस्था रहेन,’ उनले सुनाए ।

किरण अब राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाल नै फर्कनेछन् । एसियाको अधिकांश राष्ट्रमा ट्रान्सफर विन्डो बन्द भइसकेको कारण अब नयाँ क्लब खोज्न निकै कठिन हुने उनले जानकारी दिए । यद्यपि उनले नयाँ क्लबको खोजि भने जारि रहने बताए ।

किरणले टिसी स्पोर्ट्समा यसअघि दुइ सिजन बिताइसकेका छन् । पहिलो सिजनमा बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय गोल्ड कपको उपाधि दिलाउन उल्लेख्य भूमिका खेलेका किरण गत सिजन झनै उत्कृष्ट लयमा थिए । टिसीले लिग उपाधि जित्दा किरण लिगको उत्कृष्ट गोलरक्षकका साथै माल्दिभ्स फुटबल संघकै सर्वोत्कृष्ट गोलरक्षक चुनिएका थिए ।

– हाम्रो खेल्कुद बाट