डेभ वाटमोर नेपाल आइपुगे

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल पुगेका छन । उनी आइतबार साँझ नेपाल आइपुगेका हुन ।

जनवरीको पहिलो साता नेपाल आउने भनेपनि टिकटको ब्यवस्थापनका कारण उनी ढिलो भएका हुन । पछि क्यानले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका बेला पारेर नेपाल बोलाउने बताएको थियो । वाटमोर नेपाल पुगेर होटेल क्वारेन्टिनमा रहेका छन । नेपाल सरकारको नियम अनुसार उनी क्वारेन्टिनमा बसेका हुन ।

उनी चार पाँच दिनमा परिक्षण गरेर बाहिर निस्कनेछन । पीएम कप भइरहेका बेला उनले खेलाडीको प्रदर्शनलाई प्रत्यक्ष रुपमा नियाल्नेछन ।

अष्ट्रेलियाको पूर्व खेलाडी वाटमोरलाई क्यानले पुषको पहिलो साता नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो । लामो समयको प्रशिक्षणको अनुभव भएका वाटमोरलाई क्यानले ठूलो विश्वासका साथ नेपाल ल्याएको हो ।

क्वारेन्टिनबाट बाहिर निस्किएपछि उनले राष्ट्रिय टिमका खेलाडीसँगपनि भेटघाट गर्नेछन । दशक लामो खेलाडी जीवनबाट १९८८र८९ मा सन्यास लिएका उनी त्यसपछि प्रशिक्षणतिर लागे । श्रीलंकाले १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षक थिए ।

श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगे । उनले दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताए ।

त्यसपछि फेरि श्रीलंका फर्किएका उनलाई १९९९ को विश्वकपमा भने सफलता हात लागेन । २००३ को विश्वकपमा भने श्रीलंकालाई उनले सेमिफाइनलमा पुर्‍याए ।

श्रीलंका क्रिकेटको रूपान्तरणबाट प्रभावित बंगलादेशले उनलाई प्रशिक्षक बन्न प्रस्ताव गर्‍यो । उनले श्रीलंकाकै जस्तो सफलता त दोहोर्‍याउन सकेनन्, तर २००५ मा बंगलादेशले (जिम्बाब्वेविरुद्ध) पहिलो टेष्ट म्याच जित्यो भने कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हरायो । २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट पनि भएको थियो ।

बंगलादेश छाडेपछि उनी भारत र इंग्ल्याण्डको प्रशिक्षकका दावेदार पनि थिए । तर इंग्ल्याण्डले पिटर मोरेस र भारतले रवि शास्त्रीलाई प्रशिक्षक बनायो । २००७ मा उनी भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने भने यू–१९ टिम पनि सम्हाले । त्यही बेला भारतले यू–१९ विश्वकप जित्यो । २००८ मा मलेसियामा भएको प्रतियोगितामा भारतीय कप्तान विराट कोहली थिए ।

२०१० र २०११ मा आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक रहेका उनले ४ मार्च २०१२ मा पाकिस्तान टिमको प्रशिक्षक नियुक्त भए । उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेको थियो । पाकिस्तानमा सम्झौता सकिएपछि जिम्बाब्वे पुगेका उनले त्यहाँ पूरा काम गर्न पाएनन् ।

२०१७–१८ मा केरला क्रिकेट एशोसिएसनको मुख्य प्रशिक्षक रहेका उनी केरला क्रिकेटमा दीर्घकालीन प्रभाव छाड्न सफल भएको मानिन्छ ।