दशरथ रंगशालामा अन्तर्राष्ट्रिय गोल्डकप हुने

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा माघ ९ देखि मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक समितिले प्रतियोगितामा ६ टोली सहभागी हुने जानकारी दिएको हो ।

दशरथ रंगशालामा ११ दिन चल्ने प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ ।

एन्फाबाट स्विकृतिप्राप्त भइसकेको प्रतियोगिताको अनुमानित बजेट १ करोड ५० लाख रुपैयाँ रहेको छ । विजेताले २५ हजार अमेरिकी डलर तथा उपविजेताले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । विधागत उत्कृष्टतर्फ प्रत्येक विजेताले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि आवश्यक प्राविधिक सहयोग र फिफाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग गर्ने आयोजकले जानकारी गरायो ।

नेपालका दुई टोली नेपाल रातो र नीलोसँगै अन्य चार विदेशी टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । ‘प्रारम्भिक चरणमा दक्षिण कोरिया, भुटान, बंगलादेश, भारत, थाइल्यान्ड र चीनलाई पत्राचार गरिएको छ । सकेसम्म ती देशका सिनियर टोली नभए यू–२३ टोलीले सहभागिता जनाउने अपेक्षा राखेका छौं,’ आयोजक समितिका अध्यक्ष विनोद श्रेष्ठले भने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको वर्तमान स्थिति हेर्दा तोकिएको समयमै रंगशाला तयार हुनेमा विश्वस्त रहेको आयोजकले जानकारी दिएको छ । यदि विशेष कारणवश रंगशाला तयार नभएमा विकल्प रहेको श्रेष्ठले जनाए । पुनर्निर्माण भइरहेको रंगशालामा छाना राख्ने काम भइरहेको छ ।