दशरथ रंगशालाको पुनर्निर्माण कहिले सम्पन्न हुन्छ ?

A man works to beautify the Dasharath Rangashala for the 13th South Asian Games 2018, in Kathmandu, on Thursday, August 04, 2016. Photo: RSS

मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ ।

गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । वि.स. २०१३ सालमा दशरथ रंगशाला निर्माण भएको हो ।

रंगशाला नबन्दा नजिकिँदै गरेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र एशियन खेलको तयारीका लागि खेलाडीलाई अभ्यास गर्न पर्याप्त खेल मैदान छैन। त्यसैले जतिसक्दो चाँडो दशरथ रंगशाला पुनःनिर्माण गरिसक्नुपर्ने बाध्यता छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले सो रंगशालाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको र आगामी फागुन महिनाभित्र निर्माण कार्य सम्पन्न हुने बताउँदै आएका छन्।

नेपालमै हुने तेह्रौं दक्षिण एसियाली खेलकूद प्रतियोगिता र उद्घाटन सत्र सोही मैदानमा हुने भएकाले हरहालतमा रंगशालाको पुनःनिर्माण निर्धारित समयमै सक्ने पक्षमा रहेको मन्त्री सुनारले दाबी गरेका छन्।

सन् २०१९ को मार्चमा दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजना गर्ने जिम्मा नेपालले पाएको छ ।

अहिले पुनःनिर्माण गर्न लागिएको रंगशाला साधारण र भिआइपी प्याराफिट गरी १५ हजार दर्शक अट्ने क्षमताको हुनेछ। पहिलेको तुलनामा अहिले केही कम क्षमताको बन्न लागेको हो ।

खेलकुद मन्त्रालयले रंगशाला पुनःनिर्माण गर्न ५५ करोड ४२ लाख छुट्याएको छ । यसअन्तर्गत रंगशालासहित पौडी पोखरी र राखेपको एउटा भवन पनि बन्नेछ ।

रंगशाला बनाउन भ्याट बाहेक १६ करोड ५० लाख खर्च लाग्ने बताइएको छ।

क्षतिग्रस्त रगंशालाको ‘फ्लड लाइट’, ‘स्कोर कार्ड’ र ‘सिन्थेटिक ट्र्याक’ बनाउन चीनले सहयोग गर्नेछ । यस अघि पनि ती संरचना चीनले बनाइदिएको हो ।

हाल निर्माणाधीन यस रगंशाला क्षेत्रफल १३६ रोपनी जमीनमा फैलिएको छ।

दशरथ रंगशालाको इतिहास

पहिले खाली मैदान रहेको यो स्थानमा वि.स. २०१३ सालमा रंगशाला बनाइएको हो। त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो।

राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथ्लेटिक्स र व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो। त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी किरण शम्शेरलाई रंगशाला बनाउने कामको जिम्मा दिइएको थियो।

त्यतिबेला रंगशालाको पूर्वपट्टि सेनाको छावनी थियो। उत्तरतर्फ बाँसको झ्याङ थियो भने दक्षिणतर्फ खुला थियो। पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो। रंगशालाको पहिलो संरचना त्यही बेला बनेको हो ।

राखेप सदस्यसचिवका रुपमा विस २०३४ मा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय भयो। विसं २०३५ मा शुरु गरिएको निर्माण कार्य २०३७ मा सम्पन्न भयो।

रंगशालाको अहिलेको स्वरूप २०५५ सालमा तयार भएको थियो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो।

रंगशाला काण्ड

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच प्रतिस्पर्धा भइरहेको थियो । विस २०४४ फागुन २९ गतेको त्यो दिन अचानक हावाहुरीसहितको वर्षा हुँदा रंगशालामा भएको भागदौड मच्चियो र ७१ खेलप्रेमीले ज्यान गुमाए। सोही घटनामा नैतिक जिम्मेवारी स्वीकार्दै तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले राजीनामा दिएका थिए। यो घटनालाई नेपाली खेलकूदको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ।

खेल क्षेत्रलाई माथि उठाउने उद्देश्यका साथ सरकारको नीति तथा कार्यक्रममा यसपटक सातै प्रदेशमा रंगशाला बनाउने योजना पारिएको छ । यसवर्ष प्रदेश नं २, ६ र ७ गरी तीन ठाउँमा रंगशाला बनाउने योजना रहेको राखेपले जनाएको छ। यसका लागि सरकारले सात करोड ५० लाख बजेट छुट्याएको छ।

रंगशाला निर्माणका लागि सरकारले यसअघि कायम भएका ७५ मध्ये ७३ जिल्लामा जग्गा छुट्याएको भएपनि अधिकांश जिल्लामा रंगशाला निर्माण प्रक्रिया शुरु पनि हुन सकेको छैन। राखेपका अनुसार अहिलेसम्म मुगु र रौतहटमा खेल मैदान बनाउन जग्गाको जोहो गर्न सकिएको छैन।