दशकपछि पहिलो पटक मेस्सी र रोनाल्डो बिनाको एल क्लासिको

एल क्लासिको अर्थात दुई स्पेनिस क्लबको भिडन्त । पछिल्लो एक दशकलाई हेर्ने हो भने यो भिडन्त विश्व फुटबलका दुई स्टारको भिडन्त ।

आधुनिक समयमा एल क्लासिको लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको ब्यक्तिगत प्रतिष्पर्धाका रुपमा हेरिँदै आइएको छ ।

तर, आइतबार हुने एल क्लासिको खल्लो हुनेछ, किनभने फुटबलका यी दुबै सुपरस्टार नोउ क्याम्पमा देखिने छैनन् । क्रिष्टियानो रोनाल्डोले नौ वर्षको यात्रामा पूर्णविराम लगाउँदै नयाँ सिजनमा इटालियन क्लब युभेन्टसका लागि विदा भएका छन् । जसले रियल मड्रिड करियरमा ४५० गोल र चार च्याम्पियन्स लिग सहित १५ ट्रफी जितिसकेका छन् ।

र, लियोनल मेस्सी पनि हातको चोटका कारण यो खेलमा उपस्थित हुने छैनन् । गत साता सेभिया विरुद्ध भएको खेलमा उनको हात भाँचिएको थियो ।

सन् २००७ पछि यो पहिलो एल क्लासिको हुनेछ जसमा न रोनाल्डो न मेस्सी खेल्नेछन् । सन् २००७ को एल क्लासिकोमा जुलियो बाप्टिस्टाको गोल निर्णायक बन्दा रियल मड्रिडले बार्सिलोनामाथि जित निकालेको थियो । त्यसपछिको खेलमा मेस्सी र रोनाल्डो एल क्लासिकाको ज्वाजल्यमान नक्षत्र बन्दै आएका छन् ।

एल क्लासिकोमा २६ गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता हुन् । उनले १४ एसिस्ट पनि गरेका छन् । रोनाल्डोको नाममा लगातार ६ क्लासिकोमा गोल गर्ने कीर्तिमान छ ।

यो एल क्लासिकोमा बार्सिलोनाले लियोनल मेस्सीको अनपेक्षित अनुपस्थितीको पूर्ति कसरी गर्ला ? रियल मड्रिडले रोनाल्डोको ह्याङ्ग ओभर भुलाउन सक्ला ? यी दुई सुपरस्टारको अनुपस्थितीमा एल क्लासिकोको उचाई कायम रहला ? रोनाल्डो विना रियल कसरी कति प्रभावशाली ?

रोनाल्डोलाई युभेन्टस पठाएर रियलले जति अप्ठेरो खेपिरहेको छ त्यो भन्दा बढी अप्ठेरो प्रशिक्षक जिनेदिन जिदानको बहिर्गमनले छ ।

ला लिगाको पछिल्लो चार खेलमा रियलले एक बराबरी र तीन हारको नतिजा निकालेको थियो । जुन बेला रियल अलभेस र लेभान्टेसँग पनि स्तब्ध भएको थियो । जसका कारण रियल मड्रिड अहिले सातौं स्थानमा झरेको छ ।

रियलको समस्या स्कोरिङमा देखिएको छ । पछिल्लो चार खेलमा रियलले एकमात्र गोल गर्न सकेको छ । लेभान्टेसँग २–१ को हार ब्यहोर्दा त्यो एक गोल पनि डिफेन्डर मार्सेलोले गरेका थिए ।

च्याम्पियन्स लिग अन्तर्गत चेक गणतन्त्रको भिक्टोरिया प्लाजेनविरुद्धको खेलमा भने करिम बेन्जेमाले झण्डै दुई महिनापछि गोल गर्दै रियल मड्रिडलाई केही सान्त्वना दिलाएका छन् । जुन खेलमा मार्सेलोले पनि गोल गरेका थिए ।

करिब आठ सिजन लगातार रुपमा रियलका लागि गोल गर्दै आएका रोनाल्डोको अनुपस्थिति पूर्ति गर्नका लागि अझ पनि रियल मड्रिड संघर्ष गरिरहेको छ । सन् २०१६÷१७ मा रियलले ला लिगा र च्याम्पियन्स लिग जित्दा रोनाल्डो, अल्भारो माराटा र जेम्स रोद्रिगेजले गोल गरेका थिए । यो सिजन तीनै जना खेलाडी रियल मड्रिडमा छैनन् ।

रियलमा अझ पनि सिर्जनात्मक प्रतिभाको कमी देखिएको छ, जुन स्थानलाई ग्यारेथ बेल, इस्को, मार्को असेन्सियो र करिम बेन्जेमा पुर्ति गर्न सक्षम छन् । तर यीमध्ये कुनै पनि खेलाडीमा रियल मड्रिड भर पर्न सकेको छैन ।

सबै खेलाडी पेनाल्टी एरिया बाहिरबाट बल सप्लाई गरिरहेपनि स्कोर गर्न सकिरहेका छैनन् । अघिल्लो सिजन लगातार ७३ खेलमा गोल गर्दै विश्व कीर्तिमान कायम गरेको रियल मड्रिड यो सिजन चार खेलमा गोलविहीन छ ।

के रियल मड्रिडले रोनाल्डोलाई ‘मिस’ गरेको हो ? भन्ने प्रश्नमा इस्कोले भनेका थिए, ‘यहाँ (रियल मड्रिड) बस्न नचाहनेका लागि रुनुको कुनै अर्थ छैन ।’ तर, सत्य त्यही हो, जव रोनाल्डो विदा भए रियल रित्तियो ।