थ्री स्टार क्लबको संकटा क्लबमाथी रोमान्चक जित

कतार एयर्वेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले रोमान्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले संकटा क्लबमाथि १-० गोलको जित निकालेको हो ।

थ्री स्टारलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयको सातौं मिनेटमा गोल गरे।

संकटाका गोलकिपर राजा बाबुले पन्च गरेको बल नियन्त्रणमा लिदै राफायल रिमले उपलब्ध गराएको पासमा विजयले सहजै गोल गरे ।

त्यसअघि प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसर खेर फालेका थिए।

खेलको दोस्रो मिनेटमा थ्री स्टारका संजोक राईको प्रहार पोस्टको नजिकबाट बाहिरिएको थियो ।

चौंथो मिनेटमा थ्री स्टारका निशान खड्काको फ्री-किक संकटाका गोलकिपर राजाबाबु थापाले सहजै आफ्नो पन्जामा पारे ।

सातौं मिनेटमा संकटाका फोडे फोफानाको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले सहजै रोके ।

लगत्तै संकटाका अमित तामाङको क्रसमा लक्षण रुचालको प्रहार आकाशिएको थियो ।

खेलको ३४ औं मिनेटमा संकटाका ग्लोरीले सिक्स यार्ड बक्स भित्रको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले उत्कृष्ट बचाऊ गरे ।

खेलको इन्जुरी समयमा थ्री स्टारका निशान खड्काको क्रसमा संजोक राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन।

खेलको इन्जुरी समयमा थ्री स्टारका लाकेन लिम्बुको हेडर संकटाका गोलकिपर राजाबाबुले बचाए ।

यस जितसँगै थ्री स्टारले ९ खेलमा १६ अंक जोडेको छ ।

थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ ।

संकटाले ९ खेलमा १४ अंक जोडेको छ ।

संकटा पाँचौं स्थानमा झरेको छ ।