थ्री स्टार क्लबका कप्तान विक्रम लामा बैंकक प्रस्थान

थ्री स्टार क्लबका कप्तान विक्रम लामा परिक्षणका लागि शुक्रबार बैंकक प्रस्थान गरेका छन् । फागुन २७ गते धरानमा बुढासुब्बा गोल्डकपको फाइनलका दौरान दायाँ खुट्टा भाचिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् ।

फागुन २८ गते चक्रराज पाण्डेको नेतृत्वमा ग्रान्डी अस्पताल उनको खुट्टाको शल्यक्रिया भएको थियो । शल्यक्रियापश्चात अहिले पनि उनको खुट्टामा स्टिल छ । चोट भने पूर्ण रुपमा निकै भइसकेको विक्रमले जनाए । चोट पूर्ण रुपमा ठिक भइसकेका पनि अब खेल्नका लागि उनी तयार छन् । उनीले अभ्यास पनि सुरु गरिसकेका छन् । तर, अब उनी प्रतिस्पर्धात्मक फुटबलका लागि तयार भए नभएको परिक्षणका लागि थाइल्यान्ड गएका हुन् ।

क्लबका उपाध्यक्ष अतिशकृष्ण श्रेष्ठको पहलमा उनी बैंकक अस्पतालमा परिक्षणका लागि गएका हुन् । उनले बैंककमा फिफाले प्रमाणित गरेको बैंकक एकेडेमी अफ स्पोट्र्स एण्ड एक्सरसाइज मेडिसिनमा उपचार गराउने छन् । यो अस्पताल फिफाले आसियान क्षेत्रमा प्रमाणित गरेको पहिलो अस्पताल पनि हो । त्यो अस्पतालमा खेलाडीको चोटको विशेष शल्यक्रियाका साथै रिह्याबको कार्यक्रम पनि संचालन हुने गरेको छ ।

‘मेरो चोट ठिक भैसकेको छ । मैले अभ्यास पनि सुरु गरिसकेको छु,’ उनले भने, ‘तर अब प्रतिस्पर्धात्मक खेलमा फर्कनुअघि एक पटक म खुट्टाको परिक्षणका लागि बैंकक जान लागेको हु ।’ उनले बैंकक पुगेर सुरुआती केहि दिन परिक्षण गर्ने र खुट्टाको स्थिति हेरेर एक देखि दुई हप्ता त्यहीं रहेर रिह्याब गर्ने बताए ।

थाइल्यान्डबाट फर्केपछि विक्रमले लिग खेल्ने सम्भावना छ । उनकै कप्तानीमा क्लबले मोफसलका विभिन्न उपाधि जित्नुका साथै दुई वर्षअघि एएफसी कपको छनोट चरण पनि पार गरेको थियो । तर एन्फाको लापरवाहीका कारण क्लबले दोस्रो चरण भने खेल्न पाएको थिएन । विक्रमले एसियन कप छनोट दौरान राम्रो प्रदर्शन गरेका थिए । सन् २०१३ र २०१५ को साफ च्याम्पियनसिप खेलेका विक्रमले यस पटक बंगलादेशमा भएको साफ च्याम्पियनसिप गुमाएका थिए ।