थ्री स्टारले पाउने भयो ललितपुर महानगरबाट ३२ लाख

ललितपुर महानगरपालिकाले ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई ३२ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । क्लबले पछिल्लो वर्ष मोफसलमा गोल्डकप उपाधि जितेको आधारमा प्रति गोल्डकप ४ लाख रुपैयाँ दिने भएको हो । यसबाहेक ललितपुरबाट ‘ए’ डिभिजन लिग खेल्ने थ्रीस्टारसहित पाँच क्लबलाई वार्षिक ४ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

शुक्रबार बसेको ललितपुर महानगरको दोस्रो नगरसभाले ‘ए’ डिभिजनका ५ क्लबलाई प्रोत्साहान स्वरुप वार्षिक ४ लाख दिने निर्णय भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए । ललितपुरबाट मंगलबजारको रुस्लान थ्री स्टार क्लब, कुपन्डोलबाट एनआईबीएल फ्रेन्ड्स क्लब, च्यासलस्थित च्यासल युथ क्लब, जावलाखेलस्थित जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले ‘ए’ डिभिजन लिग खेलिरहेका छन् ।

अन्य चार क्लबले वार्षिक ४ लाख रुपैयाँ मात्र पाउने भएपनि घरेलु फुटबलमा निकै सफल र चर्चित क्लब रुस्लान थ्री स्टारले भने ३२ लाख पाउने भएको छ । थ्री स्टारले अघिल्लो वर्ष ७ गोल्डकपको उपाधि जित्दै ४ लाखका दरले २८ लाख र वार्षिक ४ लाख गरी ३२ लाख पाउने भएको हो ।

अन्य क्लबले ४-४ लाख रुपैयाँ बुझ्नेछन् । मेयर महर्जनले थ्रीस्टारले उत्कृष्ट प्रदर्शन गरेका कारण नै पुरस्कार पाएको र अन्यको हकमा पनि सोहि लागु हुने बताए । उक्त रकम दशैंपछि बाँडिनेछ ।