थ्री नेसन कप: नेपालले उपाधीको लागि बंग्लादेशसंग खेल्ने

काठमाडौ, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन् ।

थ्री नेसन्स कपको फाइनल अघि आइतबार भएको प्रि-म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका हुन् ।

प्रतियोगिताको फाइनलमा नेपालले भोलि आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

‘हामीले दुई खेल खेल्यौं ।  प्रदर्शन राम्रै गरेका छन् । सोचेअनुसार खेलेका छौँ । तर, गोल गरिरहेका छैनौँ,’ महर्जनले भने, ‘हाम्रो भोलिको मुख्य लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नु हुनेछ ।’

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको थियो ।

यस्तै नेपालले पछिल्लो ७ अन्तराष्ट्रिय खेलमा गोल गर्न सकेको छैन ।

यस्तै महर्जनले फाइनलमा टिममा केहि परिवर्तन हुने समेत बताए ।

‘भोलिको खेलमा सुरुवाती-११ मा केही परिवर्तन हुन सक्छ । त्यसका लागि हेर्दैछु,’ उनले भने ।

नेपालले अघिल्ला दुई खेलमा सुरुवाती-११ परिवर्तन गरेको थिएन् ।

नेपाली टिमका कप्तान किरण चेम्जोङले उपाधि दिलाउन आफु उत्सुक रहेको बताए ।

‘सबै कप्तानलाई आफ्नो कप्तानीमा उपाधि जित्दा सुखी लाग्छ । आफ्नो कप्तानीमा उपाधि दिलाउन म पनि उत्सुक छु,’ उनले भने ।

बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताए ।

‘यस खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । घरेलु टोलिलाई दर्शकको समर्थन छ । हामी फाइनलमा पुग्यो यो नै ठुलो विषय हो,’ उनले भने ।

बंगलादेशका कप्तान जमल भुयाले सोमबार उपाधि जित्नका लागि सुनौलो मौका रहेको बताए ।