“त्यो गोलको आश थिएन”- रोनाल्डो

च्याम्पियन्स लिगमा मंगलबार राती क्वाटरफाइनलतर्फको पहिलो लेगमा युभेन्ट्सविरुद्ध क्रिष्टियानो रोनाल्डोले गरेको वन्डर गोल उनकै लागि पनि सरप्राईज प्याकेज थियो । रोनाल्डोको दुई गोलको सहयोगमा रियल मेड्रिडले युभेन्ट्समाथि ३–० को शानदार जित हात पारेको थियो ।

मंगलबार राती युभेन्ट्सको घरेलु मैदानमा सम्पन्न उक्त खेलमा रोनाल्डोको प्रदर्शनले सबैको मन जित्न सफल भएको थियो । खेलको ६४ औं मिनटमा डानी कार्भाजलको क्रस पासमा रोनाल्डोले बक्स भित्रबाट बाइसाइकल किकमा वन्डर गोल गर्न सफल भएका थिए ।

रोनाल्डोको उक्त गोल देखेर यभेन्टस कै घरेलु समर्थकहरुले पनि रोनाल्डोको समर्थनमा उठेर ताली बजाउन थालेका थिए । तुरिनमा करियर कै उत्कृष्ट मध्ये एक गोल गरेपछि रोनाल्डोले युईएफएसँग कुरा गर्दै भनेका छन् “मेरो त्यो गोल उत्कृष्ट थियो । मैले त्यो गोल गर्छु भनेर आश गरेको थिएन । मलाई लाग्छ युभेन्ट्सविरुद्धको खेल निकै शानदार थियो । हामीले विपक्षीविरुद्ध तीन गोल गरेका छौं । हाम्रो टोली निकै उत्कृष्ट छ । हामीले निकै राम्रो खेल्यौं । वास्तमा भन्नुपर्दा म धेरै खुशी छु । मैले टिमलाई जित दिलाउन सहयोग गरेँ ।”

स्मरणीय छ कि मंगलबार रोनाल्डो च्याम्पियन्स लिगमा लगातार दश खेलमा गोल गर्ने पहिलो खेलाडी बनिसकेका छन् ।