तेलमा मूल्य बढाएर बेच्दा पनि एक अर्ब घाटामा निगम

Nepal Oil Corporation. Photo: THT file

नेपाल आयल निगम (एनओसी)ले चालू आर्थिक वर्ष ०७५ ७६ को साढे दुई महिनामा ४० अर्बको पेट्रोलियम कारोबार गरेको छ। ४० अर्बको कारोबारमा निगमले एक अर्ब घाटा देखाएको छ।

साउन, भदौ र असोजको मध्यसम्म ४० अर्बभन्दा बढी कारोबार गर्दा एनओसीले ३० अर्ब रुपैयाँ भारतीय आयल कर्पोरेसन(आईओसी)लाई भुक्तानी दिएको छ। यो अवधिमा एक अर्ब रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संकलन गरेको र झण्डै १२ अर्ब राजस्व तिरेको निगमका निमित्त नायब प्रबन्ध–निर्देशक नागेन्द्र साहले बताए।

आईओसीले पठाएको मूल्यअनुसार समायोजन नगर्दा घाटा बढिरहेको उनको भनाइ छ। असोज १५ मा आईओसीले निगमलाई नयाँ मूल्य पठाए पनि बारम्बार मूल्यवृद्धिको चर्को विरोधका कारण मूल्य समायोजन गर्न नसकेको साहको भनाइ रहेकाे खबर नयाँ पत्रिका दैनिकमा छ।