ड्यानी आल्भेसको डेब्यु खेलमा बार्सिलोनाको जित

बार्सिलोनाले कोपा डेल रेको राउण्ड ३२ मा लिनारेज डिपोर्टिभोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लिनारेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा उसमान डेम्बेले र बि टिमका खेलाडी फेरान जुटग्लाले एक एक गोल गरेका थिए । यसअघि लिनारेजले खेलको १९औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । लिनारेजका लागि हुगो डियाज सान्चेजले गोल गरेका थिए । त्यसपछि बार्सिलोनाले खेलको ६३औं र ६९औं मिनेटमा गोल गरेको थियो ।

स्पेनिस डिभिजन २ को टिम लिनारेजविरुद्ध बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गर्दै हारबाट जोगिएको छ । यस खेलमा बार्सिलोनामा डानी आल्भेजले पनि आफ्नो दोस्रो इनिंगको शुरुवात गरेका छन् ।

३८ वर्षीय अल्भेसले आफ्नो लामो-प्रतीक्षित दोस्रो डेब्यू गरेका हुन् । नोभेम्बरमा बार्सिलोना फर्किएका आल्भेजको दर्ता प्रक्रिया पुरा भएपछि यस खेलमा खेलेका हुन् ।