डोनारुम्मा पिएसजीको पहिलो रोजाईको गोलकिपर नहुने

एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्मालाई फ्री एजेन्टको रूपमा फ्रेन्च क्लब पिएसजीले साइन गरेको छ तर हाल खबर अनुसार अर्को सिजन उनी पिएसजीको पहिलो रोजाईको गोलकिपर हुने छैनन् । एसी मिलानसँग उक्त स्टार गोलकिपरको सम्झौता अन्त्य भए पछि पिएसजी सँग उनको २०२६ सम्मको सम्झौता भएको थियो तर उनी अर्को सिजन पिएसजीको पहिलो रोजाईको गोलकिपर नहुने जानकारी छ।

२२ वर्षका युवा स्टारको हाल युरोमा राम्रो खेल रहेको छ भने उनी हाल विश्व फुटबलको एक उत्कृष्ट गोलकिपरको रुपमा रहे पनि अर्को सिजन पिएसजीको मुख्य गोलकिपर केलोर नावासनै हुने टेलेफुटले जनाएको छ। डोनारुम्मालाई साइन गर्नु अघि पिएसजीले नावास सँग सम्झौता विस्तार गरेको थियो भने पिएसजीमा उनको खेल पनि निकै राम्रो रहेको छ।

पिएसजीले डोनारुम्मालाई लोनमा पठाउने पनि कुनै सङ्केत नदेखाए पछि उनी अर्को सिजन पिएसजीको बेन्चमा हुने देखिन्छ।

इटालियन क्लब युभेन्टस पनि उनलाई साइन गर्न इच्छुक रहेको थियो तर पिएसजी उनलाई भित्राउन सफल रहेको थियो। पिएसजीले उनलाई €१२ मिलियन प्रति वर्षको तलब दिने जानकारी छ भने उनको सम्झौता २०२६ सम्म हुने छ।