डिभिजन लिग : च्यासलको उत्कृष्ट जित, युरोप जाने बिमल र सन्तोषले गरे गोल

पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबारदेखि शुरु तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले शानदार जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा च्यासलले न्युरोडटिम (एनआरटी) लाई ५–१ गोल अन्तरले हरायो । लिगमा च्यासलको यो पहिलो जित समेत हो । च्यासलको जितमा खेलको १४ औं र २९ औं मिनटमा अमिर श्रेष्ठले लगातार दुई गोल गरे ।

त्यस्तै खेलको ५६ औं मिनटमा बिमल घर्ती मगरले च्यासलका लागि तेस्रो गोल गरे भने लगतै ६३ औं मिनटमा सन्तोष साहुखलले च्यासलका लागि चौथो गोल गरे । त्यसैगरी खेलको ८६ औं मिनटमा बक्स नजिकैबाट बिमलले नै व्यक्तिगत दोस्रो तथा च्यासलका लागि पाँचौं गोल गरे ।

उता खेलको इन्जुरी समयमा एनआरटीका लागि अफ्रिकी खेलाडी मोशुदले एक मात्र सान्त्वना गोल फर्काए तापनि त्यो गोल टोलीको हार टार्न प्रर्याप्त बनेन ।