डिबाला दिएर लुकाकु भित्र्याउदै युभेन्ट्स

युभेन्ट्सले आफ्नो स्टार खेलाडी डिबाला दिएर म्यानचेस्टर युनाइटेडका फरवार्ड लुकाकु भित्र्याउने तयारी गरेको छ र अब डिबालाले युनाइटेड संग सहमति गर्न बाकि रहेको बुझीएको छ ।

अर्को इटालियन क्लब इन्टर मिलानले लगातार युनाइटेडसँग लुकाकुको अनुबन्धनलाई लिएर प्रयास जारि राख्दा युभेन्टसले आफ्नो टोलीका फरवार्ड पाउलो डीबालालाई समेट्दै अनुबन्धन प्रस्ताव गरेको हो ।

युभेन्टसले डीबालाको भाउ १ सय मिलियन युरो रहेको भन्दै अर्को इंगलिस क्लब टोटेनहमको प्रस्ताव नकारीरहेको अवस्थामा लुकाकुलाई भित्र्याउन भने खेलाडी साटासाटका लागि तयार रहेको छ । टोटेनहमले डीबालाका लागि ६० मिलियन युरोको प्रस्ताव गरेपनि युभेन्टसले नकारेको थियो ।

यता इन्टर मिलानले लगातार लुकाकुलाई अनुबन्धन गर्न प्रयास जारि राखेको छ । पछिल्लो समय प्रि-सिजनका कुनै खेल नखेलेका लुकाकु क्लब छाड्ने लगभग पक्का देखिएको छ । इन्टरले यसै साता गरेको ५४ मिलियन पाउण्डको प्रस्ताव पनि युनाइटेडले स्वीकार गरेको छैन ।

इन्टरले पनि लुकाकु नआएको खण्डमा पेरिस सेन्ट जर्मेनका एडिन्सन काभानी वा एएस रोमाका एदीन जेकोलाई ल्याउने प्रयास थाल्ने बुझिएको छ । माउरो इकार्डीलाई प्रशिक्षक एन्टोननियो कोन्टेले टोलीमा नराख्ने निर्णय लिएपछि इन्टर हाल फरवार्डको खोजीमा छ ।