डिबालाको युभेन्टसमा भविष्य अनिश्चित

एजेन्सी, इटालीयन क्लब युभेन्टसका अर्जेन्टिनियन स्टार खेलाडी पाओलो डिबालाको युभेन्टसमा भविष्य अनिश्चित देखिएको छ। रिपोर्टका अनुसार युभेन्टस उनको क्लबमा भविष्य लम्ब्याउन चाहन्छन् तर डिबालाको पारिश्रमिक वृद्धिको माग भने पूरा गर्ने अवस्थामा छैनन्।

डिबाला अर्को वर्ष सम्मका लागि युभेन्टसमा अनुबन्धित छन्। रिपोर्टका अनुसार डिबालाको प्रति वर्ष करिब १० मिलियन युरो पारिश्रमिकको माग रहेको छ। युभेन्टस भने हाल आर्थिक रूपमा कम्जोर रहेको भनिएको छ र डिबालाको पारिश्रमिकको माग पूरा गर्ने आर्थिक अवस्थामा नरहेको देखिएको छ।
२७ वर्षका अर्जेन्टिनियन खेलाडी डिबाला २०१५ मा युभेन्टसमा अनुबन्धित भएका थिए। युभेन्टसमा अनुबन्धित भए देखि उनले क्लबका लागि २५४ खेलमा १०० गोल गरि सकेका छन्। आफ्नो राष्ट्रिय टोलीका लागि पनि उनले २९ खेलमा २ गोल गरेका छन्।