डिफेन्डर रवीन श्रेष्ठले ‘ए’ डिभिजन लिग फुटबल गुमाउने

पाँच वर्षको अन्तरालमा हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिात नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले गुमाउने भएका छन् । नेपाल पुलिस क्बलसँग आबद्ध श्रेष्ठ २०७४ वैशाखमा एएफसी एशियन कप छनोट खेलमा फिलिपिन्ससँग खेल्ने क्रममा हल्चोक मैदानमा घाइते भएका थिए ।

त्यतिबेला उनको ग्रान्डी अस्पतालमा घुँडाको शल्यक्रिय गरिएको थियो । त्यसपछि निरन्तर मैदान बाहिर रहेका उनी १८ औँ एशियन खेलकूद प्रतियोगिताको तयारीका लागि थाइल्याण्ड गएको टोलीमा समावेश थिए । थाइल्याण्डमा त्यहाँको यु–२३ टोलीसँगको खेलमा उक्त चोट पुनः बल्झिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् ।

घुँडाको चोटका कारण उनले यसपटकको लिग गुमाउने नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले जानकारी दिए । पुलिस क्लबले असोज १३ गतेदेखि शुरु हुने लिगका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा बुझाएको अन्तिम खेलाडी नामावली सूचीमा श्रेष्ठको नाम समावेश छैन ।

यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबलमा नेपालले सहभागिता जनाउने भएपछि ‘ए’ डिभिजन लिग स्थगित हुने सम्भावना रहेको छ । राष्ट्रिय टोलीका खेलाडी ए डिभिजन लिगमा छ क्लबमा आबद्ध छन् ।

बङ्गबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राखिँदा ती क्लबलाई अप्ठेरो पर्ने क्लबले बताउँदै आएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार पदाधिकारी र लिग कमिटीबीचको छलफलपछि यसबारे निर्णयमा पुगिने बताएको छ । ए डिभिजन लिगको उद्घाटन गरेपछि बङ्गबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्ध नभएका छ क्लबबीचको खेल सञ्चालन गर्ने यी दुई विकल्पबारे छलफल हुने एन्फाले जनाएको छ ।