डिपाइ बार्सिलोनासँग पारिश्रमिक कटौतीमा सहमत

एजेन्सी, स्पेनिश क्लब बार्सिलोनामा हालै अनुबन्ध भएका डच खेलाडी मेम्फिस डिपाइले आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन्। रिपोर्टका अनुसार डिपाइले आफ्नो पारिश्रमिक ३० प्रतिशतले कटौती गर्न सहमत भएका हुन्।

डिपाइ दुई वर्षका लागि बार्सिलोनामा अनुबन्ध भएका हुन्। हाल बार्सिलोनाको आर्थिक अवस्था कम्जोर रहेकाले उनले सो निर्णय गरेको देखिन्छ। यसका साथसाथै बार्सिलोनालाई ला लिगाको पारिश्रमिकको मापदण्ड पूरा गर्न पनि गाह्रो भइरहेको भनिएको छ। रिपोर्टका अनुसार उक्त मापदण्ड पूरा गर्न नसकेको खण्डमा बार्सिलोनालाई  नयाँ खेलाडी दर्ता गर्न समस्या पर्नेछ।
बार्सिलोनाको कुल पारिश्रमिक २०० मिलियन पाउन्ड भन्दा बढी रहेको भनिएको छ। यसै कारणले बार्सिलोना नयाँ खेलाडी भित्र्याउन र मेस्सी जस्ता स्टार खेलाडीलाई क्लबमै राख्न केही खेलाडीहरुको पारिश्रमिक कटौती गर्नुका साथै केही खेलाडीहरु बेच्न पनि खोजिरहेको देखिन्छ।