डिएगो म्याराडोना अस्पताल भर्ना

पेटमा समस्या देखिएपछि म्याराडोनालाई अर्जेन्टिनाको क्लिनिका ओलिभोस अस्पतालमा भर्ना गरिएको थियो । खबरअनुसार म्याराडोनाको चेकजाँच तथा उपचारपछि अवस्था सुधार आएसँगै शनिबारै अस्पतालबाट डिस्चार्जसमेत गरिएको छ ।

म्याराडोना डिस्चार्ज हुने समयमा पत्रकारले उनी अस्पतालबाट गाडी चढेर बाहिरिदिँदै गरेको भिडियो खिचेका छन् । जसमा पत्रकारले म्याराडोनालाई स्वास्थ्य अवस्थाबारे जानकारी लिन खोज्दा उनले हाँस्दै आफू ‘ठीक रहेको’ जवाफ दिएको देख्न सकिन्छ ।

अघिल्लो दिन मिडियाले भने म्याराडोनाकी छोरी डाल्माको भनाइ उद्धृत गर्दै म्याराडोनाको अवस्था ‘नाजुक रहेको’ समाचार छापेका थिए । शनिबार भने डाल्माले सो समाचारको खन्डन गर्दै आफ्ना पिता ठीक रहेको बताइन् ।