‘ट्रफी सहित फर्कने सपना छ’ – नवयुग

‘साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो । नेपालको लागि अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गोल गरेपछि जित पक्का भएको थियो ।

‘म बेन्चको प्लेयर होइन भन्ने आजको खेलमा प्रमाणित गरेको छु’ , नेपाली टोलीका फरवार्ड नवयुग श्रेष्ठले भने, ‘पाकिस्तानसँग पहिलो रोजाईमा थिए । त्यसपछि मलाई प्रशिक्षकले बेन्चमा राख्नु भएको थियो । धेरै पछि गोल गर्न सफल भएको छु । खुसी लागेको छ ।’ साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्नका लागि जित्नै पर्ने खेलमा नेपाल घरेलु टोली बंगलादेशलाई पराजित गर्न सफल रहयो ।

खेलमा पहिलो गोल विमल घर्तिमगरले गरेका थिए भने दोस्रो गोल नवयुगले गरेका थिए । नवयुग परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै ९० औं मिनेटमा गोल गर्न सफल भएका थिए । ६७ औं मिनेटमा उनी भरत खवासको ठाँउमा मैदान प्रवेश गरेका थिए । राष्ट्रिय टोलीका लागि नवयुगको त्यो छैटौं गोल हो ।

बंगलादेशविरुद्धको खेलमा मस्ट भ्यालुएवल प्लेयर बनेका नवयुगले भने, ‘धेरै समयपछि गोल गर्न सफल भएकोमा खुसी छु । बराबरीले पनि हामीलाई पुग्दैन थियो । जित्नै पर्ने बाध्यता थियो । गोल गरेर टिमलाई जिताउन पाउँदा अर्कै खुसी हुन्छ ।’ लामो समय गोल गर्दा फरवार्डमा दबाब हुने जनाउँदै उनले भने, ‘दबाब हुन्छ । फरवार्डबाट गोल हुन्छ भनेर सबैले आशा गरेका हुन्छन् । तर सधै गोल गर्न सकिन्न । त्यो समर्थकले पनि बुझ्नु भएको छ भन्ने लाग्छ ।’

उनले यसपटक च्याम्पियन बनेर फर्कने सपना रहेको सुनाए । ‘हामीले देश छाड्ने बेलामा पनि भनेका थियौं । समर्थकले पनि हामीबाट च्याम्पियन बनेर फर्कने अपेक्षा गरेका छन् । प्रतियोगितामा सबै उस्तै खालका टोली छन् । अब ट्रफीसहित फर्कने सपना छ,’ नवयुगले सुनाए । नेपालले पछिल्लो पटक बंगबन्धु गोल्डकपको उपाधि जित्दा नवयुग प्रतियोगिताको नायक सावित भएका थिए ।