टोटेन्ह्याम बेल्जियमको क्लबद्वारा चकित

युरोपा लिगमा टोटेनह्यामले हार ब्यहोरेको छ ।

बिहिबार राति समूह ‘जे’को खेलमा बेल्जियमको रोयल एन्टवर्पसंग टोटेनह्याम पराजित भएको हो ।

रोयल एन्टवर्पलाई जित दिलाउन २९ औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरेका थिए ।

डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले टोटेनह्यामविरुद्ध पहिलो हाफमै गोल गरेको थियो ।

टोटेनह्यामबाट २ सयौं खेलमा खेलिरहेका डेविसबाट बल खोस्दै डाइमुमेरसी म्बोकानीले लियोरलाई गोलका लागि बल उपलब्ध गराएका थिए ।

प्रशिक्षक जोसे मौरिन्होले पहिलो हाफमा मुख्य चार खेलाडीलाई आराम दिएका थिए । तर दोस्रो हाफमा ह्यारी केन, सन ह्युङ मिन, लुकास मौरालाई मैदान प्रवेश गराएपनि टोटेनह्यामले हार टार्न सकेन ।

समूह जेको दुई खेलबाट एन्टवर्प ६ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको टोटेनह्यामको ३ अंक छ ।