टोटेन्ह्यामलाई हराउदै चेल्सी फाइनलमा

टोटेनहम हटस्परलाई पराजित गर्दै लन्डन क्लब चेल्सी इएफएल कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो लेगमा १–० को तथा समग्रमा ३–० को जित निकाल्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा २–० को जित निकालेको थियो ।

दोस्रो लेगमा चेल्सीले घरेलु टोली टोटेनहमलाई १–० ले पराजित गर्दा पहिलो हाफमा एन्टेनियो रुडिगरले गरेको गोल नै निर्णायक बन्यो ।टोटेनहम हटस्पर स्टेडियममा बुधबार राति भएको खेलमा रुडिगरले खेलको १८औं मिनेटमा गोल गरेका थिए । उनले मासन माउन्टको पासमा गोल गरेका थिए । चेल्सीले त्यही अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै जित निकाल्न सफल भयो ।

११औं मिनेटमा रोमेलु लुकाकुको प्रहारलाई गोलरक्षक पिएरलुइजी गोल्लिनीले बचाए । १८औं मिनेटमा रुडगरले गोल गर्दै चेल्सीलाई अग्रत दिलाए । ३२औं मिनेटमा डाभिन्सन सान्चेजको पासमा ह्यारी केनले सुवर्ण अवसर खेर फाल्दा टोटेनहम बराबरीबाट चुक्यो । खेलमा टोटेनहमको दुई पटकको पेनाल्टी अपिललाई भिएआरले मान्यता दिएन । ६३औं मिनेटमा ह्यारी केनले गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन ।

अब चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेतासँग २७ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ । लिभरपुल र आर्सनलबीचको दुवै लेगको खेल बाँकी रहेको छ । पहिलो लेग आज (बिहीबार) राति तथा दोस्रो लेग २० जनवरीको राति हुनेछ ।