टोटेन्हमलाई हराउदै सिटिले उचाल्यो काराबाओ कप

एजेन्सी, काराबोओ कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । फाइनलमा टोटनहमलाई एक शुन्यले हराउँदै आठौं पटक सिटीले काराबाओ कपको उपाधि उचाल्न सफल भयो ।

वेम्बले स्टेडियममा करिव आठ हजार दर्शकमाझ भएको खेलमा सिटीको जितमा एमेरीक लार्पोटेको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८२ औं मिनेटमा सिटीका लागि लार्पोटेले गोल गर्न सफल भए । उनले केभिन डी ब्रुइनको पासको सदुपयोग गरे ।

त्यसो त सिटीका फिल फोडेनको प्रहार बारमा लागेर फर्किएको थियो भने त्यसपछि रहिम स्ट्रलिङ र गुन्डोनगको प्रहारलाई टोटनहमका गोलकिपरले बचाए ।

अन्तिममा लार्पोटेको एकमात्र गोल सिटीलाई आठौं पटक काराबाओ कपको उपाधि उचाल्न पर्याप्त बन्यो ।

पुरै खेलमा सिटीले ६२ प्रतिशत बल पोसेसन बनाएको थियो । उसले पुरै खेलमा २१ वटा पोष्ट चार्ज गरेको थियो भने टोटनहमले मात्र दुई वटा । चार वटा उत्कृष्ट मौका पाउँदा सिटीले एक गोल गरेको हो ।

यसका साथै सिटीले सर्वाधिक यो प्रतियोगिता जित्ने टिममा लिभरपुलसँग बराबरी गरेको छ । सिटीले पछिल्ला चार सिजनमा यो प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । सन् २०१३ पछि मात्र उसले ६ पटक यो प्रतियोगिताको उपाधि जितेको छ । यो विचमा दुई पटक मात्र अरु टिमले यो प्रतियोगिताको उपाधि जितेका छन।