टि-२० विश्वकपमा नेपालको अबको यात्रा; यसरी पुग्नेछ नेपाल विश्वकपमा

अर्को वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको छनोट खेलका लागी नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ । आउँदो जुलाई २० देखि २८ तारिख सम्म सिगापुरमा हुँन गईरहेको एसिया छनोट प्रतियोगिताका लागी नेपालले आफ्नो टिम घोषणा काठमाण्डौमा पत्रकार सम्मेलन मार्फत गरिएको थियो ।

सार्बजनिक गरिएको टिम अनुसार टिमको कप्तानीमा पारस खड्का सहित ज्ञानेन्द्र मल्ल (उप कप्तान) सन्दिप लामिछाने , सोमपाल कामि , दिपेन्द्र सिह एरि , करन केसी , बसन्त रेग्मी , बिनोद भण्डारी , ललित नारायण राजबम्शी , अविनाश बोहरा , प्रदिप एरि , रोहित कुमार पौडेल , शरद भेषवाकर र पवन सरार्फ रहेका छन ।

यस्तै बैकल्पिक खेलाडीको रुपमा शुशन , भारी , जितेन्द्र मुखिया ,आरिफ शेख र कुशल भुर्तेल रहेका छन । उमेश पटवालको मुख्य प्रशिक्षणमा रहेको नेपाली टिमको बन्द प्रशिक्षणमा २५ जना खेलाडीलाई बोलाईएको थियो ।

जसमा कप्तान पारस खडका सहित अभिनाश बोहारा , अमित श्रेष्ठ , बसन्त रेग्मी , भिम सार्की , बिनोद भण्डारी , दिपेन्द्र सिह एरि , ज्ञानेन्द्र मल्ल , जितेन्द्र सिह मुखिया , करन केसी , कुशल भुत्तेल , ललित भण्डारी , ललित राज बम्शी , मोहम्मद आरिफ शेख , नन्दन यादब , पवन सरार्फ , प्रदिप एरि , राजु रिजाल , रोहित कुमार पौडेल , सन्दिप लामिछाने ,शाहब आलम , शरद भेषवाकर ,सोमपाल कामि , सन्दिप जोरा र शुशन भारी रहेका थिए । बन्द प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शनको आधारमा नेपाली क्रिकेट टिमको अन्तिम घोषणा गरेको हो ।

सिंगापुरमा हुने आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोट अगाडी राष्ट्रिय टिमले मलेसियाको राष्ट्रिय टिमसँग दुई वटा खेल खेल्ने पक्का भएको छ । नेपाली राष्ट्रिय टिमका ब्यवस्थापक रमन सिवाकोटीले मलेसियासँग नेपालले असार २८ र २९ (जुलाई १३-१४) मा दुई वटा खेल खेल्ने बताए ।

सन् २०१४ मा बंगलादेशमा भएको पाँचौ संस्करणको टि-ट्वान्टी विश्वकपमा पहिलो पटक सहभागिता जनाँउदै राम्रो छाप छोडेको नेपालले यसपछि सन् २०१६ मा भारतमा भएको विश्वकप भने गुमाएको थियो ।

विश्वकप पुग्ने तीन चरणमध्य नेपालले पहिलो खुड्किलो सहज तरिकाले पार गरिसकेको छ । मलेसियामा भएको विश्वकप छ्नोटको पहिलो चरणको रुपमा रहेको एसिया (पूर्वी) छनोट प्रतियोगितामा नेपाल प्रतियोगिताको विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

सात टिमको सहभागिता रहेको छनोट प्रतियोगिताको अंकतालिकाको शीर्षस्थानमा रहेको टोलीलाई विजेता मानिएको थियो । जसमा नेपाल प्रतियोगिता भर अपराजित रहँदै एसिया फाइनल छनोट प्रतियोगिताको लागि छनोट समेत भएको थियो । प्रतियोगिताको प्रावधान अनुसार नेपालसहित अंकतालिकामा दोस्रोमा रहेको सिंगापुर र तेस्रोमा रहेको मलेसिया नेपाल सँगै विश्वकप छनोटको दोस्रो चरण अर्थात एसिया छनोटका लागि छानिएका थिए ।

अब एसिया (पूर्वी) छनोटबाट आएका नेपाल, मलेसिया र सिंगापुर र एसिया (पश्चि) छनोटबाट आएका कतार, कुवेतले जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुने एसिया छनोट प्रतियोगितामा सहभागिता जनाउँदै छन । कतार र कुबेतसँगै एसिया (पश्चिम) बाट छनोट भएको युएईले भने एसिया छनोट खेल्नुपर्ने छैन ।

विश्वकप छनोटको अन्तिम चरण ग्लोबल क्वालिफायरलाई युएईले आयोजना गर्ने हुँदा अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) को पूर्व निर्णय अनुसार युएई आयोजकको नाताले ग्लोबल क्वालिफायरमा स्वत: छनोट भएको हो ।

नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण प्रतियोगिता एसिया छनोटमा नेपालले २३ जुलाईमा कतारविरुद्ध पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने जुलाई २४ मा मलेसियाको सामना गर्नेछ । यस्तै तेस्रो खेल जुलाई २७ मा कुवेतको सामना गर्ने नेपालले अन्तिममा आयोजक सिंगापुरसँग जुलाई २८ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको शीर्षस्थानमा आउने टोलीले विश्वकप छनोटको अन्तिम खुडकिलोको रुपमा रहेको युएईमा हुने ग्लोबल छनोटमा सहभागिता जनाउने छ । १४ टिमको सहभागी रहने ग्लोबल टी-ट्वान्टी छनोटबाट उत्कृष्ट ६ टिमले आगामी वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपमा स्थान बनाउने छन ।

यी १४ देशमध्य शीर्ष ६ मा स्थान बनाउने टोली विश्वकपका लागि छनोट हुनेछ । पछिल्ला केही वर्षमा नेपालले राम्रो नतिजा निकाल्दै आएको छ । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरेको नेपाल अहिले उच्च मनोबलमा समेत रहेको छ । तर एकदिवसीयमा लगातार सफलता हात पार्दै गर्दा फरक टि- ट्वान्टीमा नेपालको प्रदर्शन कस्तो रहँला यो अहिले आम चासोको विषय बनेको छ ।

सम्भावना प्रबल भए पनि नेपालले आफ्नो प्राकृतिक शैलीमा खेल खेल्यो भने नेपालले एसिया छनोटलाई पार गर्न सक्ने धेरै आधारहरु रहेको क्रिकेट विश्लेषकहरुले टिप्पणी गरेका छन् । यसपछि नेपालको वास्तविक परीक्षा ग्लोबल छनोटमा हुनेछ । त्यसअघि एसिया छनोटमा राम्रो गर्नेमा नेपाली टोली लाग्नुपर्नेछ ।