टि-१० लिग : दोश्रो खेलमा पनि सन्दिपको राम्रो प्रदर्शन, टिम भने पराजित

युएईमा जारि टि-१० लिग अन्तर्गत केरला किंग्सको प्रतिनिधित्व सन्दिप लामिछाने दोश्रो खेलमा पनि राम्रो बलिङ्ग प्रदर्शन गरेका छन्। सन्दिपले राम्रो प्रदर्शन गरे पनि टिम केरला भने शेन वाटसन कप्तानीको सिन्धिजसंग विकेटले पराजित हुन पुग्यो।

टस हारेर पहिले ब्याटिंग गर्दै केरलाले १० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो। १०४ रनको लक्ष्य सिन्धिजले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै भेट्यो। लक्ष्य पछ्याउने क्रममा सिन्धिजका कप्तान तथा ओपनर शेन वाटसनले अविजित ५० रन बनाए जुन क्रममा २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर एन्टन डेभसिचले ४९ रन बनाउन २० बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

यस अघि पहिलो इनिंगमा प्रविन ताम्बे एक्लैले ह्याट्रिक सहित ५ विकेट लिएपछि केरलाले १०३ रन बनाउन सकेकको थियो। खराब सुरुवातका बाबजुत अन्तिममा वाएन पार्नेलले अविजित ५९ रन ( ७ चौका र ४ छक्का ) प्रहार गर्दै योगफल १०० पार गराएका थिए।

लिग अन्तर्गत पहिलो खेलमा केरलाले पख्तुन्सलाई ८ विकेटले पराजित गरेको थियो। लिगको तेश्रो खेल अब केरलाले नोभेम्बर २५ तारिक आइतबार ब्रेण्डन म्याकुलम कप्तानीको राजपुत्ससंग खेल्नेछ।

सन्दिपको राम्रो बलिङ्ग
अघिल्लो खेलमा सनसनीपूर्ण बलिङ्ग गर्दै पख्तुन्सको ३ विकेट लिएका सन्दिपले आफ्नो लयलाई दोश्रो खेलमा पनि कायम गरे।

दोश्रो इनिंगको पहिलो ओभर बलिङ्ग गरेका सन्दिपले १० रन खर्चे पनि विकेट लिन सकेका थिएनन्। ओभरको तेश्रो बलमा डेभसिचले छक्का प्रहार गरे पनि अन्य बलहरुमा सन्दिपले वाटसन र डेभसिचलाई खुलेर खेल्न दिएनन्।

लगत्तै ओभर बलिङ्ग गर्न आएका सन्दिपले ओभरको तेश्रो बलमा आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई क्याच आउट गराए। दोश्रो ओभरमा उनले मात्र ४ रन खर्चिए र २ ओभरको स्पेलमा मात्र १४ रन खर्चेर १ विकेट लिए।