टि–१० लिग खेल्न युएई गए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टिममका युवा लेगस्पिनर सन्दीप लामिछाने टि–१० लिग खेल्न आइतबार युएई प्रस्थान गरेका छन् । सन्दीपले दोस्रो संस्करणको टि–१० लिग सन्दीपले केरला किंग्सबाट खेल्ने छन् ।

३० हजार अमेरिकी डलमा केरलामा आबद्ध सन्दीपले त्यहाँ इंग्ल्यान्डका कप्तान इओन मोर्गान, वेस्टइन्डिजका क्रिस गेल, किरेन पोलार्ड, वायन पार्नेल, पाकिस्तानका जुनैद खान, सोहेल तनविर, श्रीलंकाका उपुल थारंगा, दासुन शनाकासँगै आयरल्यान्डका कप्तान पाउल स्टरलिङसँगै खेल्ने छन् ।

बुधबारबाट सुरु हुने टि–१० लिगमा ८ फ्रेन्चाइज टिम छन् । जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स छन् । नेभेम्बर २१ म पख्तुनसँग खेल्दै केरलाले लिगको सुरुवात गर्ने छ ।

टि १० लिग सन्दीपको पाचौं फ्रेन्चाइज लिग हो । यसअघि सन्दीपले इन्डियन प्रिमियर लिग (आईपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), ग्लोबल टि–२० लिग क्यानडा, अफानिस्तान प्रिमियर लिग (एपिएल) खेलिसकेका छन् ।

यस्तै, सन्दीप अष्ट्रेलियामा हुने बिग बास लिग र बंगलादेश प्रिमियर लिग पनि खेल्ने छन् । उनले बिग बास लिग मेलबर्न स्टार्सबाट खेल्नेछन् भने बंगलादेश प्रिमियर लिग उनले सिलेट सिक्सर्सबाट खेल्ने छन् । यस्तै सन्दीपले आगामी वर्षको आइपिएल पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने छन् ।

फ्रेन्चाइज लिगमा सन्दीपको प्रदर्शन उत्कृष्ट छ । आईपिएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएका सन्दीपले ३ खेल खेल्दै ७२ रन खर्चेर ५ विकेट लिएका थिए ।

सन्दीपले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू खेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध २१ रन खर्चेर १ विकेट लिएका थिए । यस्तै, अन्तिम खेलमा सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध ३६ रन खर्चेर ३ विकेट आफ्नो नाममा लेखाएका थिए ।

यसैगरी, ग्लोबल टि–२० लिग क्यानडा सन्दीपले मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए । लिगमा ५ खेल खेल्दै सन्दिपले ८ विकेट लिएका थिए । ग्लोबल टि–२० लिगमा सन्दिपले वेष्टइन्डिज ‘बी’विरुद्ध ३ विकेट तथा टोरन्टो नेशनल्सविरुद्ध २ विकेट लिएका थिए भने वेष्टइन्डिज ‘बी’, भ्यानकुभर नाइट्स, एड्मोन्टोन रोयाल्सविरुद्ध १–१ विकेट लिएका थिए ।

ग्लोबल टि–२० लिगमा सर्वा्िधक मेडन ओभर बलिङ गर्ने खेलाडी पनि हुन् सन्दिप । उनले प्रतियोगितामा २ मेडन ओभर गरेका थिए । यस्तै, सन्दीप क्यारेबियन प्रिमियर लिगमा क्रिस गेलको कप्तानीमा रहेको क्लब सेन्ट किट्स नेभिट् प्याट्रिओट्समा आबद्ध थिए । प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै ७ विकेट लिए ।