‘टिममा रोनाल्डोको अभाव खड्की राखेको छ’ – भन्छन् कासेमिरो

केहि दिन अघि भएको युइएफए सुपर कप फुटबलमा सहरी प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग रियल मड्रिड ४–२ ले पराजित भयो । आफ्ना पूर्वस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र पूर्वप्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि खेलेको पहिलो उपाधि भिडन्तमा रियलले उपाधि जोगाउन सकेन ।

उक्त खेलमा रियलका लागि रोनाल्डोको निकै अभाव खड्किएको देखिन्थ्यो । खेलपछि पनि रियलका खेलाडी कासेमिरोले यो कुरा स्वीकारेका छन् । उनले खेलपछि मिडियासँग कुरा गर्दै टोलीले रोनाल्डोलाई खुबै मिस गरेको बताए ।

‘सधैं जित्ने सुपर कप जित्न नसक्दा हामी दुःखी छौं । हामीले यस्तो नतिजाको अपेक्षा गरेका थिएनौं,’ उनले भने, ‘तर, यो सुरुआत हो, हामीसँग अझै लामो यात्रा बाँकी नै छ ।’

पराजयछि पत्रकारले टोलीमा रोनाल्डोको अभाव कत्तिको खड्कियो भन्दै सोधेको प्रश्नमा उनले भने, ‘हो, रोनाल्डोलाई हामीले खुब मिस गर्यौं । तर, उनी अब रियलका लागि विगत भइसकेका छन् ।’

रियलले रोनाल्डोलाई १ सय १२ मिलियन युरोमा युभेन्टसलाई बेचेको थियो । रोनाल्डोले ९ वर्ष रियलमा बिताउँदा ४ सय ३८ खेलबाट ४ सय ५० गोल गरेका थिए ।