ज्ञानेन्द्रको दुर्लभ शतक

कप्तान ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गर्दै शतक बनाउँदा काठमाडौं गोल्डेन्सले बुधबार एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित ग-यो। काठमाडौंले ओभर घटाइएको खेलमा सहज जित निकाल्दै एलिमिनेटरका लागि आफ्नो सम्भावनालाई कायमै राखेको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा अघिल्ला दुई खेलमा पराजित भएपछि काठमाडौंलाई बाँकी खेल जित्नैपर्ने दबाब थियो। ओभर घटाइएको खेलमा नेपाली क्रिकेटको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका मल्लको दुर्लभ शतक हेर्ने अवसर मिल्यो। १७ ओभरको खेलमा मल्लले शतक हान्ने क्रममा ३८ बलको उपयोग गरे। उनी १ सय रन पूरा गरेसँगै कमलसिंह ऐरीको बलमा सन्दीप झोराबाट क्याच भएका थिए।

गौरब तोमर शून्यमै आउट भएपछि जयकृष्ण कोल्सावाल र अमित श्रेष्ठले दोस्रो विकेटको लागि महŒवपूर्ण साझेदारी गरे। अमित श्रेष्ठ सागर ढकालको बलमा विक्रम ठगुन्नाको हातबाट क्याच हुँदा ३४ रनमा खेलिरहेका थिए। उनले २१ बल खेल्ने क्रममा ६ चौका र एक छक्का हिर्काए। जयकृष्ण कोल्सावालले ४६ रन बनाउने क्रममा ३७ बलको उपयोग गर्दै ४ चौका र दुई छक्का ठोके। चौथो नम्बरमा आएका कप्तानले विस्फोटक इनिङ खेल्दै २४ बलमा ५४ रन हान्दै अर्धशतक बनाएका थिए। उनले थप १४ बलमा ४६ रन बनाउँदै शतक पूरा गरे। ८ चौका र ९ छक्का उनको इनिङमा सामेल थियो। १७ ओभरको समाप्तिमा काठमाडौंले ५ विकेटको क्षतिमा १ सय ८५ रनको चुनौती पेस ग¥यो। बलिङतर्फ भने कमलसिंह ऐरीले ३७ रन खर्चेर ४ विकेट लिए।

एक्सपर्ट धनगढी ब्लुजलाई ७९ रनमै समेटेपछि काठमाडौंले फराकिलो जित निकाल्यो। श्रीमान्थ विजयारत्नेले सर्वाधिक १५ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी भने ८ रनमै क्याच भए। उनलाई वसन्त रेग्मीले कोल्सावालको हातबाट क्याच गराए। रोड्रिगो थोमसले १० रन बनाए। उनलाई पनि वसन्तले नै पवन सर्राफको हातबाट क्याच गराए। बाँकी ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। वसन्तले ३ विकेट लिँदा सुबोध भाटी र पवन सर्राफले समान दुई विकेट लिए।

दोस्रो हार बेहोरेको साबिक विजेता पोखरा पल्टन नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) का बाँकी खेल जित्नैपर्ने दबाबमा परेको छ। तेस्रो खेल खेलेको पोखरा बुधबार विराटनगर टाइटान्ससँग ४५ रनले पराजित भएपछि बाँकी खेलमा गर या मरको स्थितिमा परेको हो।

टस जितेर पोखराले फिल्डिङ गर्ने रणनीति लियो। ओसिलो मौसममा खुलेर खेलेको विराटनगरले २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ४५ रन बनायो। पहिलो विकेटका लागि मोहम्मद जैद र सुनील धमलाले अर्धशतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरे। जैद व्यक्तिगत २६ रनमा आउट भएपछि टुटेको साझेदारीलाई प्रदीप ऐरीले साथ दिने प्रयास गरे। सुनील धमला ३६ रनमा आउट भएपछि मध्यक्रमका ब्याट्सम्यान सस्तैमा पवेलियन फर्किए।

६८–१ को अवस्थामा रहेको विराटनगरले ८ रन जोड्ने क्रममा चार विकेट गुमायो। १४औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट गुमाएपछि दबावमा रहेको विराटनगरको इनिङ्सलाई पुनीत मेहरा र राजु रिजालले सम्हालेका थिए। टोलीले १५औं ओभरमा समेत दुई विकेट गुमाएको थियो। ७६–५ को स्थितिमा रहेको विराटनगरलाई पुनीत र राजुको जोडीले छैटौं विकेटको लागि ६९ रनको साझेदारी गरेपछि विराटनगरले सम्मानजनक स्कोर तयार ग¥यो। बलिङमा भने पोखरा निकै कमजोर देखियो। रसिद खान र प्राथमेश डाकेले समान ४ ओभर बलिङ गर्दै क्रमश ४० र ४३ रन खर्चिए।

१ सय ४६ रनको लक्ष्य पछ्याएको पोखराका सात ब्याट्सम्यान दोहोरो अंकभन्दा कम रनमै समेटिए। चौथो नम्बरमा आएका रोहितकुमार पौडेलले ३२ रन बनाए पनि टोली १ सय रनमै अलआउट हुन पुग्यो। पोखरा पल्टनका कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटको लागि २८ रनको साझेदारी गरे। पहिलो विकेटका रूपमा कुशल आउट भएपछि आएका रविइन्दर सिंह पनि शून्यमै क्रिज छाडे। भुर्तेलले २४ रन बनाउने क्रममा १३ बल खेल्दै १ चौका र ३ छक्का हाने। आशिषले १३ रन बनाउन २२ बल खर्चिए। रोहितले ३८ बलबाट ३ चौका र १ छक्काको मद्दतमा ३२ रन बनाए। कुशल मल्ल र कप्तान शरद भेषावकर शून्यमै आउट भए। किशोर महतोले ३, जितेन्द्र मुखिया र मोहम्मद जैद आलमले समान २/२ विकेट लिए।

@Nagarik