ज्ञानेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको जित

सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले पहिलो जित हात पारेको छ । बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतकीय इनिङ्स खेले । मलेसियाविरुद्ध कप्तानी गरेका मल्लले २१ बलमा ५१ रन जोड्दै कीर्तिमानी अर्धशतक बनाएका हुन् । मल्ल २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा क्याच आउट भए ।

योसंगै मल्ल नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने । यसअघि छिटो अर्धशतक विनोद भण्डारीको नाममा रहेको थियो । विनोदले गत साता मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको हो ।

मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । यस्तै भिरनदिप सिंहले २१ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १/१ विकेट लिए ।