जोर्डी अल्बाको विकल्पको रुपमा भ्यालेन्सियाका फुलब्याक साइन गर्ने बार्साको योजना

बार्सिलोनाका लेफ्ट ब्याक जोर्डी अल्बाले क्लब छोड्न सक्ने चर्चा धेरै हुँदै गर्दा बार्साले उनको विकल्प साइन गर्ने योजना बनाएको छ। भ्यालेन्सियाका फुलब्याक जोसे लुइस गायालाई जोर्डी अल्बाको विकल्पको रुपमा साइन गर्ने बार्साको योजना रहेको जानकारी छ।

स्पेनिस पत्रिका मार्काका अनुसार जोर्डी अल्बा यस गर्मीमा बार्सिलोना छोड्ने इच्छुक रहेका छन्, इन्टर मिलानले अनुभवी लेफ्ट ब्याक साइन गर्न कुरामा चासो देखाए पछि क्याटालान क्लबले उनको प्रतिस्थापनको रुपमा भ्यालेन्सियाका फुलब्याक जोसे लुइस गायालाई आफ्नो नजरमा राखेको छ।

२०२०/२१ सिजन भ्यालेन्सियाको लागि निराशाजनक रहे पनि जोसे लुइस गायाको खेल राम्रो रहेको थियो। ३३ लिग खेलमा उनले १ गोल र ७ असिस्ट गरेका थिए। २६ वर्षका गायालाई अल्बाको लागि दीर्घकालीन प्रतिस्थापनको रूपमा बार्साले लिने खबर छ।

३२ वर्षका स्पेनिस खेलाडी आल्बा पनि भ्यालेन्सियाबाट २०१२मा बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले बार्सिलोनाका लागि ३८५ खेल खेल्नुका साथै २२ गोल पनि गरेका छन्।