जिदानले दियो बार्सिलोना र एथ्लेटिकोलाई चुनौती

जिनेदिन जिदानले यसपटक ला लिगा थप प्रतिस्पर्धी बन्ने बताएका छन् । शनिबार ला लिगाको दोस्रो खेल खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिदानले यसपटक लिगमा तीनभन्दा बढी टिम मुख्य गरी उपाधि होडमा रहने बताए ।

यसपटक ला लिगामा उपाधि होडमा रहेका क्लबबारे बोल्दै जिदानले परम्परागत ठूला टिम मात्रै नभएर साना टिम पनि बलियो भएर आएको बताए । ‘यसपटक सधैंका तीन टिम (बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिड) मात्रै उपाधि होडमा हुनेछैनन्, अन्य टिम पनि निकै बलिया भएर आएका छन्,’ जिदानले भने ।

ला लिगा क्लबले मोटो बजेट खर्चिएर नयाँ खेलाडी अनुबन्ध गरेकाले लिग थप प्रतिस्पर्धात्मक बन्ने जिदानले बताए । ‘यसपटक यहाँका क्लबले खेलाडीका लागि थुप्रै पैसा खर्चिएका छन् । उनीहरू सबै उपाधि जित्न चाहन्छन्,’ जिदानले भने, ‘अबका दिनमा लिग झन् कठिन बन्ने पक्का छ ।’

जिदानले बार्सिलोना र एथ्लेटिकोसँगको आफ्नो टिमको प्रतिस्पर्धाबारे पनि बोले । ‘बार्सिलोना र एथ्लेटिकोसँग मुख्य रूपमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ, जुन विगतबाटै हुँदै आएको छ । यसपटक पनि यही हुनसक्छ,’ जिदानले भने ।

जिदानले आफूहरूले यसपकट जसरी पनि लिग च्याम्पियन बन्ने लक्ष्य लिएको बताए । ‘हामी सधैं लिग जित्न चाहन्छौं । तर, पछिल्ला वर्ष हामीले यो उपाधि निकै कम मात्रै जित्यौं । यसपटक हामी उपाधि घरमा फर्काउन चाहन्छौं,’ जिदानले भने, ‘बार्सिलोना र एथ्लेटिकोसँग हामी १–१ अंकका लागि प्रतिस्पर्धा गर्नेछौं ।’