जित संगै मनाङ उपाधि नजिक

मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दशौं जित निकालेको छ | आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १ – ० गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दशौं खेलमा जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङको पराजित यात्रामा विदेशी खेलाडी आडेलाजा सोमिडे नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई ३ अंक दिलाए ।

खेलमा मनाङका डिफेन्डर तथा कप्तान बिराज महर्जन म्यान अफ दि म्याच चुनिए । जितसंगै मनाङले लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिगको तीन खेल बाँकी रहदा मनाङले १० खेलबाट अपराजित रहदै ३० अंक जोडेको छ ।

शीर्ष स्थानको मनाङ दोस्रो स्थानको संकटा फुटबल क्लबभन्दा ५ अंकले अघि छ । संकटाको १० खेलबाट २५ अंक छ । अब मनाङले संकटाविरुद्धको खेल जित उपाधि आफ्नो बनाउनेछ ।

मनाङ र संकटाबीचको खेल पुस १२ गते हुनेछ ।मनाङसंग पराजित पुलिस १५ अंक सहित लिगको पाँचौ स्थानमा छ ।