जित बिहिन मनाङको सकियो एएफसी कपको यात्रा

एएफसी कपको अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लबले हारका साथ प्रतियोगिताको समापन गरेको छ । बुधबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको खेलमा मनाङले इण्डियन सुपर लिग क्लब चेन्नईनसँग ३–२ गोल अन्तरले पराजित भयो । खेलमा सबै गोल दोस्रो हाफमा सम्पन्न भए ।

पहिलो गोल खेलको ५३औं मिनटमा चेन्नईनका लागि मोहम्मद रफीले गरे । लगतै ६६औं मिनटमा एलि सबियाले चेन्नईनको त्यो अग्रता दोब्बर पारे । यद्यपि उता खेलको ७१ र ७९औं मिनटमा आफिज ओलावालेले लगातार दुई गोल गर्दै मनाङलाई खेलमा फर्काएका थिए ।

तर अन्तिमतिर ८८औं मिनटमा मोहम्मद रफीले नै व्यक्तिगत दोस्रो तथा चेन्नईनका लागि तेस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।