जितसंगै त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जितमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको ३० औं मिनेटमा दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले गोल गरेका थिए ।

खेलमा आर्मीका विकास खवास म्यान अफ दि म्याच चुनिए ।

आर्मीको यो लिगमा चौंथो जित हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ ।

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई एक अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो।

दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ ।

सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन ।