जितसंगै इटाली सेमिफाइनलमा प्रवेश

इटालीले नेसन्स लिगमा बोस्निया एण्ड हर्जगोबिनालाई हराएको छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार राति इटालीले बोस्नियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बोस्नियाको मैदानमा इटालीलाई जित दिलाउन आन्द्रे बेलोट्टी र डोमिनिको बेरार्डीले एक एक गोल गरे ।

खेलको २२ औं मिनेटमा बेलोट्टीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा बेरार्डीले गोल गर्दै इटालीको जित पक्का गरे ।

जितसँगै लिग ‘ए’ को समूह ‘ए’ मा रहेको इटालीले नेसन्स लिगको अन्तिम चारमा स्थान पक्का गरेको छ ।

इटालीले ६ खेलमा १२ अंक जोड्यो । इटालीले अब अन्तिम चारमा फ्रान्स, बेल्जियम र स्पेनसँग खेल्नेछ । अन्तिम चारको खेल २०२१ को अक्टोबरमा हुनेछ ।

२ अंक जोडेर पुछारमा रहेको बोस्निया भने रेलिगेसनमा परेको छ । अर्को वर्ष बोस्नियाले लिग बी खेल्नेछ ।

यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई २-१ ले हराएको छ ।