जापान भर्सेस क्रोएसिया : हेड टु हेड

ढोहा । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको खेलमा आज जापानले साबिक उपविजेता क्रोएसियासँग खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ मा अल जनुब स्टेडियममा सुरु हुनेछ । जापान समूह ‘इ’ को विजेता तथा क्रोएसिया समूह ‘एफ’ को उपविजेताका रूपमा अन्तिम १६ प्रवेश गरेका हुन् ।

समूह चरणमा जर्मनी र स्पेनलाई हराएको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा कायम राख्दै क्वाटरफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । समूह चरणमा अपराजित रहेको क्रोएसिया पनि जापानविरुद्ध सोही लयलाई निरन्तरता दिँदै क्वाटरफाइनलमा पुग्ने सोचमा छ ।

जापान र क्रोएसिया १६ वर्षपछि एकअर्काको सामना गर्दैछन् । यसअघि यी दुई टोलीले तीन खेलमा एकअर्काको सामना गरेका छन् । जसमा क्रोएसिया र जापानले समान एक जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ । किरिन जापान कपअन्तर्गत सन् १९९७ को पहिलो भेटमा जापान ४–३ ले विजयी भएको थियो ।

सन् १९९८ को विश्वकपमा क्रोएसिया १–० ले विजयी भयो । सन् २००६ को विश्वकपमा भएको पछिल्लो भेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । सोमबार नै हुने दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्ने छन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ मा स्टेडियम ९७४ मा सुरु हुनेछ । ब्राजिल समूह ‘जी’ को विजेता तथा दक्षिण कोरिया समूह ‘एच’ को उपविजेताका रूपमा अन्तिम १६ प्रवेश गरेका थिए ।

समूह चरणको अन्तिम खेलमा क्यारुनसँग हार बेहोरेको ब्राजिल त्यसलाई भुलाउँदै दक्षिण कोरियाविरुद्ध जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई हराएको दक्षिण कोरिया पनि त्यसलाई कायम राख्दै ब्राजिललाई स्तब्ध बनाउने सोचमा छ ।