जापानी टिमविरुद्ध मनाङको लज्जास्पद हार

मनाङ मर्स्याङ्दी क्लब जापानको चौथो श्रेणीको लिगका खेलाडी सम्मिलित यू-२२ टोलीसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा जापानी टोलीले ३-० को जित दर्ता गरेको हो ।

खेलको २८ औं मिनेटमा जापानी टोलीले जिन सोइयाको गोलमा अग्रता बनाएको थियो । जिनले नै ३४ औं मिनेटमा गोल गर्दै जापानी टोलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २ गोलले पछाडी परेको मनाङले दोस्रो हाफमा पुनरागमन गर्न सकेन । खेलको ३ मिनेट समय बाँकी रहँदा जापानी टोलीका लागि मासाहिको सुगिताले गोल गर्दै सहज जित पक्का गरे ।

यससँगै जापानी टोलीको नेपाल भ्रमण पनि सकिएको छ । शुक्रबार नेपाल निलोलाई ४-० ले हराएको जापानी टोलीले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । मनाङले भने अब यस खेलसँगै लिगको तयारी पूरा गरेको छ । मनाङले लिगको पहिलो खेलमा एपीएफको सामना गर्नेछ । खेल बुधबार दिउँसो २:३० बजे दशरथ रंगशालामा हुनेछ ।