जापानीज टिमसंग नेपालको लज्जास्पद हार

नेपाल निलो र जापान फुटबल लिगको यू-२२ टोलीबीचको मैत्रीपूर्ण खेलमा जापानी टोली ४-० ले विजयी भएको छ ।

खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थपेको थियो । मासाहिको सुगिताको गोलमा जापानले अग्रता लिएको थियो । ४९ औं मिनेटमा उनैले अग्रता दोब्बर पारे । सतोशी सुनोमाताले गोल गर्दै जापानी टोलीको अग्रता फराकिलो पारे । तोशिकी सासाकीले ७४ औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।

हाल राष्ट्रिय टोलीमा नरहेका खेलाडी समेटेर बनाइएको नेपाल निलो टोलीको कप्तानी भोला सिलवालले गरेका थिए ।

मेघराज केसी प्रशिक्षक रहेको टोलीमा गोलरक्षक अर्पण कार्की रहेका थिए । डिफेन्समा अजित भण्डारी, विजय धिमाल र छिरिङ गुरुङ खेलेका थिए ।

मिडफिल्डर हेमन्त थापामगर, रुपेश केसी, लक्ष्मण रुचाल र सुवास गुरुङ रहेका थिए । आक्रमणमा सुमन लामा र रवी पासवान थिए । दोस्रो हाफमा मनिष थापा, प्रकाश बुढाथोकी र बुद्ध चेम्जोङ वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।

जापानी टोलीले अब दोस्रो मैत्रीपूर्ण खेलमा लिग च्याम्पियन मनाङको सामना गर्नेछ । त्यसअघि ए डिभिजन लिगको पहिलो खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) खेल्नेछन् ।