“जापानसँग ३-० अन्तरले पराजित भएमा १ सय डलर दिने भनेको थिएँ” – अध्यक्ष कर्मा छिरिङ शेर्पा

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एसियाली खेलकुदअन्तर्गतको फुटबलमा जापानविरुद्ध १-० ले पराजित भएको नेपाली यू-२३ टोलीलाई १ सय डलर बोनस दिने घोषणा गरेका छन् ।

मंगलबार भएको खेलमा नेपालले प्रतियोगिताको दावेदार मानिएको जापानविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको थियो । कप्तान एवं गोलरक्षक किरण चेम्जोङले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बुधबार चितवनमा जारी १७ औं विशेष साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष शेर्पाले टोलीको हौसला बढाउन आफूले बोनस रकम घोषणा गरेको बताएका छन् । उनले प्रतियोगिताका अन्य खेलमा पनि बोनस रकम राखेको जानकारी दिए ।

‘मैले टोली इन्डोनेसिया जानुअघि बोनस घोषणा गरेको थिएँ । जापानसँग ३-० अन्तरले पराजित भएमा १ सय डलर दिने भनेको थिएँ । खेलाडीहरुले राम्रो खेले र १-० को नतिजामा रोक्न सफल रहे । उनीहरुले अब वाचाअनुरुप बोनस प्राप्त गर्नेछन्,’ शेर्पाले भने, ‘ अब भिएतनामसँग जित हात पारे १ सय ५० र पाकिस्तानलाई हराए १ सय डलर पाउनेछन् ।’

नेपालले प्रतियोगिताको समूह ‘डी’ अन्तर्गत बिहिबार भिएतनामको सामना गर्नेछ । समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग भिड्नेछ । अर्को चरणमा पुग्न नेपाललाई समूहको शीर्ष २ स्थान अथवा ६ समूहमध्य चार उत्कृष्ट तेस्रो स्थानको टोलीमा पर्नुपर्ने छ ।