जर्मन कपमा बायर्नको सहज जित

बायर्न म्युनिखले जर्मन कपमा सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा बायर्नले इनर्जी कटबसलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा किङ्सले कोमानले १ गोल थपे । कटबसमा बरकान टाजले सान्त्वना गोल फर्काए ।

खेलको ३२औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ६५औं मिनेटमा कोमानले अग्रता दोब्बर पारे । ८५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । ९१औं मिनेटमा इनर्जी कटबसका बरकान टाजले पेनाल्टीमा गोल गरेपनि हार टार्न सकेन ।