जर्मनीको नेदरल्यान्डसँग लज्जास्पद हार

युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा जर्मनी नेदरल्यान्डसँग ३–० ले स्तब्ध बनेको हो । जर्मनीलाई स्तब्ध बनाउन भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे । नेदरल्यान्डको जोहान क्रुफ एरिनामा शनिबार राति भएको खेलमा जर्मनी खेलको ३०औं मिनेटमा पछि परेको थियो ।

भर्जिल भान डिजिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको नेदरल्यान्डले खेल सकिन तीन मिनेट बाँकी रहँदा तीन मिनेटको अन्तरमा २ गोल गर्दै जर्मनीलाई ३–० ले स्तब्ध पारे ।
८७औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्डको अग्रता २–० ले पारेको थियो । ९०औं मिनेटमा जर्जिन्हो विज्नल्डमले गोल गरेको थियो ।

पछिल्लो समय जर्मनीले आफ्नो लय समात्न सकेको छैन । रसिया विश्वकपमा खराव प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको थियो ।

पछिल्लो दुई खेलमध्ये जर्मनीले फ्रान्ससँग बराबरी खेल्दा पेरुमाथि २–१ को संघर्षपूर्ण जित निकालेको थियो ।
जितपछि नेदरल्यान्ड ग्रुप १ मा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । हारपछि जर्मनी १ अंकसहित पुछारमा छ । यो ग्रुपमा फ्रान्स ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।